RUMPUM
animated ellipse animated ellipse

धरणीधर सहकारीको २ करोड ५० लाख वचत जोखिममा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०८०, बुधबार २१:२५
387
Shares
विराटनगर/ ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।

विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा केही महिनायता वचत फिर्ता माग्ने वचतकर्ताको भीड थियो । आज दिन्छु, भोली दिन्छु भन्दै थुमथुमाएका अध्यक्ष घिमिरेलाई आज भने निक्कै सकस पर्यो । ‘वचत माग्न आएका तीन जनाले सामान उठाएर लगेको सुुनेको छु,’ अध्यक्ष घिमिरेले भने ।

उक्त सहकारीमा ३ हजार ५ सयबढी बचतकर्ता छन् । उनीहरुले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीमा ३ हजार ५ सय वचतकर्ताको २ करोड ५० लाख वचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरु हिसावको एकिन गर्न सकिएन ।’ वचतकर्ताले घेरिएपछि अध्यक्ष घिमिरे र सहकारीका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नुअघि संचारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिंडेको कारण समस्या भएको बताए । ‘हिसाव फरफारक गर्नका लागि रजिष्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाव हेर्ने काम भइरहेको छ । पहिले हिसाव छानविन नगरिकन राष्ट्रिय सहकारी बैंकले पैसा रिलिज नदिएको कारणले पनि वचत फिर्ता दिन समस्या भयो । रिसाएर, जंगिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले वचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौं । पाउनु पर्ने भुक्तानी पनि बैंकबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’

उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ,’ उनी भन्छन्, ‘भोलीको कुरा के हुन्छ हेरौं ।’
सहकारीका वचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरकफरक चाहिन्छ । तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो,’ उनले भने, ‘हामीले वचत संकलनमा गएका वचतकर्तालाई तुरुन्ता–तुरुन्तै दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो । व्यवस्थापक लोचन राईलाई देखाएर संचालक समिति पन्छिन पाउँदैन । वचतकर्ताको पैसा जरी पनि संचालक समितिले अध्यक्षले दिनुपर्छ ।’

सहकारीमा वचत लिन आएका केही व्यक्तिले भने कप्युटर, प्रिन्टर र बस्ने टुलहरु लिएर हिंडेका छन् । ‘सर्वसाधरणले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुल्सहरु लिएर हिंडेका छन्,’ वचतकर्ता अनिल श्रेष्ठले भने ।
उक्त सहकारीको संचालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरु राजेन्द्र थापा, शुभद्राकुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् । गत जेठ ५ गते सोमबार बसेको सहकारीको संचालक समितिको बैठकले वचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरु बेलबारी र नेताचोकमा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर