आउँदो तीन वर्ष भित्र बैजनाथपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बन्नेछ : मुख्यमन्त्री कार्की

खबर पूर्वाञ्चल, २८ बैशाख २०८०, बिहीबार १४:२८
333
Shares

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्ष भित्र विराटनगरको बैजनाथपुर खेल मैदानमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने उद्घोष गरेका छन् ।

बुधबार राती नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८०–८१ देखि तीन वर्ष भित्रमा विराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् । क्रिकेटका लागि विराटनगर उर्वरभूमि रहदै आएको बताएका मुख्ममन्त्री कार्कीले नीजि क्षेत्रको साथ सहयोगसंगै प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारको समन्वयनमा क्रिकेट मैदान निर्माण गरिसक्ने बताएका हुन् । उनले नीजि क्षेत्रलाई समेत सहयोग गर्न आग्रह गर्दै भने, ‘रंगशाला निर्माणका लागि सरकार तयार छ । तीन तहको सरकारसंगै बजेट स्रोत सुनिश्चितता गर्दै हामी अघि बढ्छौ ।

हामीले बाटो विराउँदा झकझकाउने कार्यका लागि तपाईहरुले एउटा समिति बनाएर अघि आइदिनु होला । समिति बने सरकारमा जो आएपनि काम भए नभएको नजिकबाट छलफल र जानकार हुनसक्नेछ ।’ नीजि क्षेत्रले खेलाडी उत्पादनका लागि एकेडेमी निर्माणमा सहयोग गर्नुपर्नेमा मुख्मयन्त्री कार्कीले जोड दिए ।

क्रिकेट टोली एशिया कपमा छनोट भएकोमा बधाइ दिँदै मुख्यमन्त्री कार्कीले खेलाडीलाई प्रदेश सरकारले सहयोग गर्ने बाचा गरेका थिए । उनले भने, ‘तपाई राष्ट्रका गहना हो । भारत पाकिस्तानविरुद्ध सगरमाथाको झैं छाती फुकाएर खेल्नु होला । कोशी प्रदेश सरकारले खेलाडी खेलका लागि के कस्तो सहयोग गर्नु पर्ने सुरुआतबाट तयार छ ।’

कार्यक्रममा राष्ट्रिय टोलीका म्यानेजर विनोद दासले खेलाडी भएर जीविकोपोर्जन गर्न समस्या हुने गरेको बताए । राजनीतिक दलप्रति ब्यंग गर्दै उनले भने, ‘यहाँ राजनीति गर्दै नेता भएर अघि बढ्न सकिन्छ । तर नेताले खेलाडीलाई सक्दो सहयोग पुराउँदैनन् । खेलाडीले राष्ट्रका लागि खेल्ने हो । तर उनीहरुको पीडा बुझ्न सरकार, नेता, राजनीतिक दलले बुझ्न सकेनन् ।

‘खेलाडीलाई आर्थिक सहयोग गर्नुस हामी भन्दैनौ’ उनले भने, ‘तर खेललाई चलायमान बनाउन कम्तीमा ठूलो लगानी गरिदिनुस् । एउटा दरिलो संरचना र खेल खेल्ने उचित वातावरण बनाइदिनुस् । ताकी खेलाडीले समेत खेलमा भविष्य देखेर अपनत्व गर्न सकुन् ।’

एसीसी प्रिमियर कपको विजेता भएपछि मुलुकमै क्रिकेट खेलाडीलाई पहिलो पटक नगरपरिक्रमा र सम्मान कार्यक्रम आयोजना गरिएको बताएका उद्यमी तथा पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले खेलाडीलाई बाच्ने आधार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारको ध्यानाकर्षण गराउँदै लुनियाले भने, ‘सरकारले एउटा दरिलो संरचना बनाउन सक्दा त्यसबाट ठूलो राशी राजश्व संकलन गर्न सक्छ । बैजनाथपुर रंगशालालाई अन्तराष्ट्रियस्तरको बनाउँदा सक्दा, विदेशी टोलीलाई ल्याएर खेल गराउन सकिने र त्यसबाट राम्रो राजश्व संकलन गर्न सकिन्छ।’

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले खेल र खेल मैदानको विकासका लागि नीजि क्षेत्र तयार रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय टोलीका फिजियो ट्रेनर अब्दुल सत्तारको उपचारका लागि ७ लाख रुपैया प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेल, विनोद दासलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरि, सत्तारको उपचारका लागि खेलाडीको हस्ताक्षरसहितको मायाको चिनो क्रिकेट ब्याट लिलामी गरिएको थियो । न्यूनतम १ लाख रुपैयाबाट सुरु गरिएको लिलामी ब्याटलाई विराटनगरका उद्योगी अमित राठीले १ लाख ५१ हजार रुपैयामा खरिद गरेका थिए । सो अवसरमा युवा खेलाडी दीपेश कँडेललाई अरिहन्त समूहले सम्मान गरेको थियो ।

कार्यक्रममा उद्योग कृषि मन्त्री भक्ति सिटौला, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. अभिनाश बोहोरा, नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५