मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : डा. कोइराला

खबर पूर्वाञ्चल, १३ बैशाख २०८०, बुधबार १९:०८
333
Shares

विराटनगर/ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताए । “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,” नेता कोइरालाले भने, “आर्थिक रुपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।” नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिए ।

उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गरे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गरे पक्कै पनि समाज समृद्धि हुनेछ,” कोइरालाले भने, “राज्यले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण पनि गर्नुपर्छ ।”

त्यस्तै कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए । उनले पुस्तान्तरण हुनु जरुरी रहेको सुनाए । अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको उनको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहरुले सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको गुनासो पोखे । उनले घरपरिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा जोड दिए ।

विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क रुपमा ८ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको बताए । उनले भवनको अर्को तला थपेर संग्राहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाए । त्यसका लागि सहयोग गर्न गर्न संघीय र प्रदेश सांसदहरुलाई आग्रहसमेत गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, सूचना अधिकारी इन्द्रप्रसाद खतिवडा, समाजसेवी शोभा कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा ज्येष्ठ नागरिक भवन निर्माणमा व्यक्तिगत रुपमा सहयोग गर्ने पूर्वमेयर पराजुलीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५