विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन् । पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो । राष्ट्रपति निर्वाचनमा संघीय संसदका सांसद र प्रदेशसभाका सांसदहरूले मतदान गरेका थिए ।
तपाईको प्रतिक्रिया