खबर पूर्वाञ्चल
विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगिताको शनिबार उद्घाटन हुने छ । उद्घाटनमा धुव्रतारा स्पोर्टिङ क्लब झापा र शान्ति नगर स्पोर्टिङ क्लब सुनसरीबीच हुनेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टले २०७७ सालदेखि मिल्स गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । दुई संस्करणको सफलतापछि ट्रष्टले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । फागुन २७ देखि चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने उनले बताए ।
प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी हामीले बढाएको ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
दोस्रो संस्करणमा बिजेताले नगद २ लाख १ हजार र उपबिजेतालाई १ लाख १ हजार रुपैयाँ पाएका थिए ।
दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगदसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनलमा विभिन्न ६ वटा विधाहरुमा खेलाडीहरूलाई नगदसहित ट्रफि प्रदान गरिनेछ ।
गोल्डकपमा आठ वटा टिमको सहभागिता रहने भएको छ । जसमा गत वर्षको बिजेता टिम प्रतिभा फुटबल क्लब गोलबजार, साइनो स्पोर्टिङ क्लब रानी विराटनगर, शान्तिनगर फुटबल क्लब सुनसरी, धुब्रतारा फुटबल क्लब झापा, सहलेश युवा क्लब सिराहा, गाइघाट फुटबल क्बल उदयपुर, विरगन्ज युनाइटेड क्लब विरगन्ज पर्सा र द सेभेन युथ क्लब धनकुटाको टिम रहेको छ ।
दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोलबजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्डकपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्डकपको उपाधि हात पारेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको संयोजन विराटनगर महानगरपालिका, प्रवद्र्धन कोशी प्रदेश, प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ, मोरङ जिल्ला रेफ्री संघ, अखिल नेपाल फुटबल संघ रहेको छ ।
प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी दिएको छ । जसमा खेल संयोजकमा किशोर सुब्बा रहेका छन् भने सह–संयोजकमा प्रल्लाद बस्नेत रहेका छन् । यस्तै मैदान व्यवस्थापनको जिम्मेवारी जितेन्द्रकुमार साहले गरेका छन् । टिम व्यवस्थापनमा राजेशकुमार बयन्जनकार र राजु थापा रहेका छन् ।