खबर पूर्वाञ्चल
आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्धको संघर्षपूर्ण खेल खेल्दै २ विकेटले जित निकालेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र करण केसी नायक भए । कुशलले सतक प्रहार गरे भने करणले ५ विकेट लिए । आईसीसी विश्व क्रिकेट लिग टुअन्तर्गत नेपालले नामिबियालाई पहिलोपटक हराएको हो ।
नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि २०१९ मा युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो ।
गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।
२८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव ४ बलमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ११३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन, कप्तान रोहित पौडेलले ७६ बलमा ३ छक्का र ७ चौका प्रहार गरि ७२ रन,तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दीप जोराले २८ रन , पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ रन र परण केसी २० रनमा अविजित रहे । नामिबियाका रुबेन ट्रम्पेल्मनन र जान निकोल लोफ्ट्लीले ३–३ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनायो । नामिबियाका माइकल भान लिन्गेनले १३३ रनको शतकीय पारि खेले ।
कप्तान गेरहार्ड इरास्मसले अर्ध शतकीय पारी खेल्दै ५६ रन बनाए । जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिंक र कार्ल बिर्केनस्टोकले १३–१३ रन जोडे ।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिए । करनको ओडीआईमा यो तेस्रो पाँचौं विकेट हो । गत वर्ष जुनमा ओमानविरुद्धका दुई खेलमा करनले पाँच विकेट लिएका थिए । सन्दीप लामिछानेले दुईपटक र सोमपाल कामीले एकपटक पाँच विकेटको आँकडा पार गरेका छन् ।सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् । सोमपालले १ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि भएका चार खेलमा तीनमा नेपालले हार व्यहोरेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।
गत जुलाइमा स्कटल्याण्डमा भएको सिरिजमा नेपाल नामिबियासँग पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
डिसेम्बरमा फेरि नामिबिया र नेपाल आमनेसामने भएका थिए । पहिलो खेल वर्षाले हुन सकेन । दोस्रो खेलमा नेपालले ८६ रनको फराकिलो हार व्यर्होयो ।
नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ । १४ मा जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।
ओडीआई सीधै जोगाउन नेपाललाई बाँकी १२ मध्ये कम्तीमा ९ खेलमा जित हात पार्नुपर्नेछ । त्यसैले घरेलु मैदानका चार खेलले नेपालको आगामी भविष्य तय गर्नेछ ।
नामिबिया ३० खेलबाट ३७ अंक बटुल्दै तेस्रो स्थानमा छ । आजको खेलमा नेपालले घरेलु मैदान र समर्थकको फाइदा भरपूर उठायो । यही खेलमार्फत मोन्टी देसाईले नेपालको प्रशिक्षकका रुपमा डेब्यु गरेका छन् ।