पूर्वाञ्चल खबर
अस्पतालले आठौँ तहका सात मेडिकल अधिकृत छनोटका लागि सोमबार लिएको अन्तर्वार्तामा २८ जना सहभागी भएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले पदपूर्ति समितिले लिएको अन्तर्वार्तामा २८ जना सहभागी भएको जानकारी दिए । उनका अनुसार सात जना कार्यालय सहयोगीका लागि भने चार सय जनाले आवेदन दिएका छन् ।
अस्पतालले विभिन्न पदमा २५ जना कर्मचारी माग गरेको छ । दैनिक ज्यालादारीमा कामकाज गर्ने गरी स्वास्थ्य तथा प्रशासनिक सेवातर्फ कर्मचारी माग गर्दै अस्पतालले सूचना जारी गरेको थियो । कार्यालय सहयोगी पदका उम्मेदवारको अन्तर्वार्ता भने तिहारपछि हुने मेसु झाले बताए ।
यसअघि एमबीबीएस उत्तीर्ण उम्मेदवारका लागि कर्मचारी माग गर्दा एमडी गरेका चिकित्सकसमेत प्रतिस्पर्धामा सहभागी हुने गरेका थिए । तर, यसपटक एमबीबीएस उत्तीर्ण गरेका उम्मेदवारको मात्रै आवेदन लिइएको र सोहीअनुसार अन्तर्वार्ता भइरहेको झाले बताए ।
‘यसपटक एमबीबीएस गरेका उम्मेदवारको मात्रै आवेदन लिएका छौँ । अन्तर्वार्ता सकिएपछि आजै छनोट भएका उम्मेदवारको सूची सार्वजनिक गर्छौँ,’ उनले भने ।
कर्मचारी छनोटका लागि गठित पदपूर्ति समितिको संयोजकमा कोशी अस्पतालका पूर्वमेसु डा। रामनारायण चौधरी छन् । समितिमा उनीसहित चार जना सदस्य रहेका छन् ।