खबर पूर्वाञ्चल
विराटनगरमा आजेदेखि सुरु भएको सिआइएन कोशी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओली सो कुरा बताएका हुन् । सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने उनले बताए ।
पूर्व प्रधान मन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पुस १० गते यताको सभा महिनामा देशको अर्थतन्त्र सुधारमा गएको दाबी पनि गरे । अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदैछ । मैले तपाईका कुरा सुने भनेर नहुने पनि बताए ।
‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य संचालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौं । यो अत्यन्तै गम्भीर कुरा हो,’ ओलीले भने, ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो । त्यही हिसावले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था थियो । त्यसयताको सभा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरु चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।’
अध्यक्ष ओलीले अहिले कुराको जुहारी गर्ने अवस्था नरहेको पनि बताए । ‘कुराको जुहारीले केही हुनेवाला छैन । कुराले च्यूरा भिज्दैन । अहिलेको औद्योगिक व्यवसायीक क्षेत्रको कुरा पनि त्यही हो । सरकारको कुराले उद्योगीको च्यूरा भिज्दैन,’ ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भनेको कुरा तर्फ व्यंग्य गर्दै भने, ‘एक जना मान्छेले भन्थे नगर्दा नगदी, हाताहाती भन्ने गर्थे । त्यो उनको पदको कुरा हो । म पदको कुरा होइन ।
समस्या समाधानको कुरा गरिरहेको छु । अहिलेको सरकारले नगदा नगदी पुरा गर्नुपर्छ, तत्कालको तत्काल । हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि हुँदैछ । मैले तपाईका कुरा सुने भनेर हुँदैन । कुरा सुनेर के पशुपतिलाई सुनाएको हो ? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ ।’
अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गरे । ‘डेढवर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन । अब फेरि अर्थतन्त्र उँभो लाग्छ । हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?’ उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इंगित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्य जस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काँही लाग्यो होला ।’
अध्यक्ष ओलीले परमादेशबाट आएको ग्रहणले डेढवर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने पनि बताए । ‘दौडिँदा लड्यो भने, खेल्दा लड्यो भने घर गएर आत्महत्या गर्ने हो र ? जुरुक्क उठेर दौडनु पर्छ । फेरि खल्नु पर्छ । म उद्योगी व्यवसायीलाई आत्म हत्याको धेरै चर्चा नगर्न आग्रह गर्छु । अरुलाई पनि त्यसमा प्रोत्साहन हुन्छ । त्यो विषय पनि सोच्ने कुरा हो ? यस्तो सोच्न मिल्छ ? यस्तो हुतिहारा हौं हामी ?,’ उनले आफूले विताएका कष्टपूर्ण दिन सम्झँदै भने, ‘मलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्थे । त्यति गर्दा पनि कहिल्यै पनि हिम्मत हारिएन । ४ वर्ष चिसो सिंढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्थे । हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।’
उनले आफूले भोगेको अरु कथा पनि सुनाउँदै आत्महत्याको बाटो कहिल्यै पनि रोज्न नहुने भन्दै उद्योगी व्यापारीलाई सम्झाए । ‘चिसो छिडिमा बेलुका बस्यो चिसो पानी खनाइरहेको हुन्थ्यो । सुकुलमा बस्यो तलबाट पानी हालिदिन्थे । त्यस्तो जिन्दगी पनि मैले बिताए । तर, आत्म हत्याको बाटो कहिल्यै सोचिन,’ उनले भने, ‘बाँचुन्जेल हिम्मत हार्नु हुँदैन । ज्यूँदो मान्छे त मान्छे जस्तै हुनुपर्यो नि । बिना मुद्दा थुनेको थुन्यै गरेको अवस्था त भोगेर आइयो । राजनीतिमा मात्रै होइन ग्रहण भनेको सबै ठाउँमा लाग्छ । हामी आशावादी हुनुपर्छ । आत्तीन हुँदैन ।’उनले उद्योगी व्यापारीको समस्या समाधानका लागि आफूले निरन्तर छलफल गरिरहेको पनि बताए ।
‘मैले चिनतिरबाट पनि बाटो खोलेको छु । कुनै पनि मौसममा नरोकिन डबल लेनको हाइवे किमाथांका–विराटनगर बाटो बन्छ । उतापटि आइसकेको छ,’ आफूले गरेको कामको फेहरिस्त सुनाउँदै उनले भने, ‘मैले चिनिया राष्ट्रपति सिजिङ पिङसँग पनि कुरा गरेको छु । उहाँले तपाईहरु जति उत्पादन गर्नुहुन्छ । जे जे कुरा उत्पादन गर्नुहुन्छ यहाँ पठाउनुहोस हामी किन्छौं भन्नुभएको छ । तपाईका स्टल राख्नुहोस् कि स्वरुम राख्नुहुन्छ कि सोझै पठाउनु हुन्छ हामी लिन्छौं भन्नुभएको छ । त्यो भन्दा बढी के भन्नु । उत्पादन बढाउनका लागि पनि सहयोग गर्छौं भन्नुभएको छ । मैले मोदीजी सँग पनि मैले कुरा गरेको छु,’ ओलीले थपे, ‘अहिले भारतको एउटा बौद्धिक टोली नेपाल आएको छ । नेपाल, भारत, बंगलादेश र म्यानमार चारवटा देशको कनेक्टिभिटी, व्यापार, सडक पूर्वाधारको विषयमा अध्ययन गरिरहेको छ । त्यो टोलीसँग हिंजो मात्रै मैले लामो समय छलफल गरेको छु । मैले विराटनगरका समस्या भनेको छु, यहाँका जुटका कुरा पनि भनेको छु ।’
तपाईको प्रतिक्रिया