मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पण्डितले मतदानपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । ‘जनताले मुलुकमा स्थायी सरकार बनाउन चाहेका छन् । सरकार बनाउन छिनाझपटी गर्ने र च्याँखो थाप्नेहरुको दिन गए,’ उनले भने, ‘व्यक्तिगत स्वार्थलाई राजनीतिमा लैजानेहरुको समय सकियो । त्यस्तालाई चुनावका माध्यमबाट जनताले झापट हान्दैछन् ।’
नेता पण्डितले आजको निर्वाचनबाट एमालेले बहुमत ल्याउने र मुलुकमा एकल सरकार बनाउने पनि बताए । उनले विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ क्याम्पस ‘छ’ मतदान केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका छन् ।
त्यस्तै मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले पनि मतदान गरेका छन् । उनले जनपथ माध्यमिक विद्यालय मतदान केन्द्रबाट बिहान ७ः३० बजेतिर मतदान गरेका हुन् ।
बस्नेतले पनि जनताले मुलुकमा एमालेको बहुमत चाहेको बताए । ‘सत्ता र स्वार्थका लागि जनतालाई अलमल्याउन गठबन्धन बनाइएको छ । यो कुरा जनताले राम्ररी बुझेका छन्,’ उनले भने, ‘अब एमालेको नेतृत्वमा मुलुकमा ५ वर्षको स्थायी सरकार बन्छ । जनताका सबै समस्याको सम्बोधन एमाले सरकारले नै गर्छ ।’
तपाईको प्रतिक्रिया