खबर पूर्वाञ्चल
नोबेल अस्पतालमा उपचार गराइरहेका थापाको आज विहान निधन भएको हो । थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित रहेका थिए ।
उनको निधन भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका थिए । कांग्रेसको प्रदेश समिति सदस्य रहेका उनी आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारसमेत थिए ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापा काठमाडौंको पेप्सिकोलामा पनि उनको घर छ ।
असोज २३ गते मनोनयन दर्ता गरेयता उनको स्वास्थ्यमा समस्या देखिएपछि नोबेलमा भर्ना गरेर परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि भएको थियो । गम्भीर प्रकारको निमोनिया र पायल्ससमेत देखिएपछि उनको अवस्था सिकिस्त भएको थियो । असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराएर २५ दिनपछि विराटनगर आएका थिए । काठमाडौंमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भनेर आफन्तले विराटनगर ल्याएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै थापाको निधन भएको हो । अत्यधिक कमजोर भएका कारण निरन्तर अक्सिजन दिएर थापाको उपचार सुरु गरिएको दाहालले बताए ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ मा समानुपातिक सांसद निर्वाचित भएका थिए । योपटक उनलाई पार्टीले प्रत्यक्षतर्फको टिकट दिएको थियो । थापाका श्रीमती, १ छोरा र १ छोरी छन् ।