हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको पूर्वाञ्चल विद्या सदन से. बो. स्कुलले शिक्षक रेनुका बजगाईको निर्देशनमा बनेको नाटक मञ्चन गरेको हो । प्रसिद्ध भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रले लेखेको उक्त नाटकले तर्कहीन र निरंकुश शासन व्यवस्थामाथि व्यंग्य गरेको थियो ।
नाटकमा रविकान्त यादव, अनुश्का गुरागाई, दिया कामत, एन्जल सिंह, सुदेश चौधरी, एन्जल श्रेष्ठ, ऋचा श्रेष्ठ, नम्रता गुरुङ, आकांक्षा मिश्र, अभिक पौडेल, प्रशंसा राई, सक्षम यादव, प्रशान्त दर्नेल, फर्हान अली र जिया मण्डलले अभिनय गरेका थिए ।
गत बुधबारदेखि शुरु भएको महोत्सवमा विराटनगर तथा आसपासका ९ विद्यालयले नाटक प्रस्तुत गर्नेछन् । अब भदौ २५ गते शनिबार बुढानिलकण्ठ से. ई. बो. स्कुलले प्रत्यागमन मञ्चन गर्नेछ । दैनिक अपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण मञ्चन गर्नेछ । त्यस्तै भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ ।
महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।
तपाईको प्रतिक्रिया