खबर पूर्वाञ्चल
भदौ ४ गते विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिने निर्णय भएको आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
आजमात्र रथयात्रा हुने निर्णय भएको उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म रथयात्रा गर्ने विषय लिएर पुगेका थियौं । त्यहाँबाट सकारात्मक जबाफ पाएपछि रथयात्रा गर्ने पक्का भएको हो,’ उनले भने ।
उनका अनुसार कोभिडको जोखिम कायमै रहेका कारण ५४औं रथयात्रा झाँकीरहित हुने भएको छ। स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै भक्तजनलाई मास्क अनिवार्य गरेर रथयात्रा गर्ने निर्णय भएको छु उनले थपे।
यसपटक राधाकृष्ण मन्दिरबाट निकालिने रथ ट्राफिक चोक ,रोडशेष हुँदै महेन्द्र चोक,बरगाछीबाट घुमाइने उनले बताए। हिमालय रोड सौन्दर्यकरण गर्ने क्रममा रहेकोले सो रुट प्रयोग गरिने उनको भनाइ छ।
रथयात्राका लागि पुरानो रथलाई शृंगारको काम थालिएको बताउँदै उनले समिति बनाउने र अतिथिहरूको उपस्थितिबारे छलफल थाल्ने बताए। रथको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ ।
विराटनगरमा विस १९८८ सालमा ‘खट’ यात्राको रूपमा कृष्णजन्माष्टमी मनाउन थालिएको थियो। तर २०२५ सालदेखि भने प्रत्येक वर्ष रथयात्रा निकालिँदै आइएको थियो। विराटनगरको रथयात्रा दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मानिन्छ।
रथयात्रा अवलोकन गर्न प्रदेश १ र मदेश प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतको सीमा क्षेत्रका गाउँगाउँबाट पनि भक्तजन आउने गरेका छन्।