आगामी तीन वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदान प्रदान गर्न रातो बंगला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्राचार्य टिकाराम पुरीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा समेत अध्यापन गराउँदै आएको एभरेष्ट स्कुलले यस वर्षदेखि आफैं पाठ्यक्रम बनाएर नैतिक शिक्षाको समेत व्यवहारिक अभ्यास गराउन थालेको छ । प्रविधिको युगमा अध्ययन गर्ने हरेक विद्यार्थी प्रविधिमैत्री हुनुपर्छ भन्ने मान्यता स्थापित गराउन लागेको एभरेष्टले सोहि अनुसारको भौतिक संरचना निर्माणदेखि लिएर शिक्षकहरुलाई समेत प्रविधिमैत्री बनाएको छ । हरेक कक्षाकोठामा प्रोजेक्टर र स्मार्ट बोर्डलगायतका प्रविधिको प्रयोग गर्दै अध्यापन गराउने यस विद्यालयका हरेक शिक्षकले ल्यापटपको प्रयोग गरेर अध्यापन गराउनुपर्छ ।
विद्यार्थीले सैद्धान्तिक रुपमा किताबी ज्ञान मात्र पाएर हुँदैन भन्ने मान्यता राख्ने प्राचार्य पुरीले भने,‘ त्यो सँगै चरित्रवान, सीपयुक्त पनि हुन आवश्यक छ ।’ प्रविधिले विश्व एउटा गाउँको रुपमा विकास भइरहेको सन्दर्भमा हाम्रा विद्यार्थीहरु युग सुहाउँदो हुन आवश्यक छ भन्दै प्राचार्य पुरीले त्यसका निम्ति हामीले नविन प्रविधिको उच्चतम प्रयोग र सीपमूलक शिक्षामा जोड दिइरहेका छौं । यसकै लागि रातो बंगलासँगको सम्झौता गरिएको भन्दै उनले अब एभरेष्टलाई तीन वर्षसम्म रातो बंगला फाउण्डेसनले प्रविधि र सीप विकासमा सहजिकरण गर्ने बताए।
देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा पटकपटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार पाउँदै आएको एभरेष्टले शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार र प्रविधिमा पनि उसैगरि लगानी गर्दै आएको छ । ‘पीजी टु पीजी’ अर्थात प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएटसम्म एउटै थलोबाट अध्ययापन गराउने लक्ष्यका साथ अघि बढेको एभरेष्टमा अहिले प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्ययापन हुँदै आएको छ ।
सबै कक्षालाई आधुनिक र प्रविधियुक्त बनाएको एभरेष्टका लागि कोरोना महामारीले निम्त्याएको लक डाउन र भर्चुअल कक्षाको अभ्यासले सहयोग पुगेको प्राचार्य पुरीले बताए । उनले भने, ‘त्यहि भर्चुअल कक्षाका लागि हामीले हरेक शिक्षकलाई विभिन्न तालिम दियौं, जसले गर्दा आज एभरेष्टका सम्पूर्ण शिक्षक कर्मचारी प्रविधिमैत्री हुनुहुन्छ ।’
तपाईको प्रतिक्रिया