२०६२–०६३ सालको आन्दोलन पश्चातको गणतन्त्र स्थापना पछि महेन्द्रचोकबाट पूर्व राजा महेन्द्रको पूर्ण कदको शालिक हटाइयो । महेन्द्रचोकको साटो जनआन्दोलन चोक भनियो । विराटनगरमा पनि महेन्द्रको शालिक ठडिनु पर्ने वकालत तिव्र हुँदै गएको छ । त्यसो त नेपाल भरनै कतिपय ठाउँमा पूर्व राजपरिवारको शालिक ठड्याउने क्रममा झडप भएको समाचार सुनिन थालेको छ ।
यसै शिलशिलामा २०७९ साल जेठ १९ मा नेपालगञ्जको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक ठड्याउने क्रममा प्रहरीसँग राजसंस्था समर्थकको झडप भयो । केहि अघि नेपालगञ्जको त्रिभुवन चोकमा पूर्व राजा त्रिभुवनको शालिक ठड्याइयो भने कैलालीको अत्तरीयामा पूर्व राजा महेन्द्रको नयाँ शालिकको अनावरण गरियो । गणतन्त्र प्राप्तीपछि विराटनगरको महेन्द्रचोकमा भत्काइएकै ठाउँमा महेन्द्रको नयाँ शालिकको स्थापना र अनावरण हुनु पर्ने मागले जोर पक्रन थालेको छ ।
पूर्व राजा महेन्द्रको शालिक स्थापनाको आवाजलाई विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले खुलेरै समर्थन गरेका छन् । निवर्तमान मेयर पराजुलीले आफैले पनि महेन्द्र चोकमा पूर्वराजा महेन्द्रको शालिक हाल्नु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले इतिहासलाई कहिले पनि मार्न नहुने किटान गरे । आफैले पनि स्थानीयसँग मौखिक सर्भे गर्दा बहुसंख्यक महेन्द्रचोकमा पूर्वराजा महेन्द्रको शालिक स्थापना गर्नु पर्ने पक्षमा उभिएको बताए । पराजुलीले आफूँ मेयर रहँदापनि महेन्द्रचोकमा पूर्व राजा महेन्द्रको शालिक पुर्नस्थापनाको कुरा उठाएको बताए ।
पराजुलीले भने,‘ हामीले क्रुर राणा शासकदेखि निवर्तमान राजा ज्ञानेन्द्रसम्मको इतिहास पढ्नु पर्छ । शालिक भत्काएर वा विस्थापित गराएर केहि पनि प्राप्त गर्न सकिँदैन । जङ्गबहादुरको शालिक छ भने पनि राज्यले त्यसको संरक्षण गर्नु पर्छ । शालिक इतिहासको विम्ब हुने भएकोले यसलाई भत्काएर इतिहास मेट्ने काम गर्नु हुँदैन । शालिक स्थापना गर्दा गणतन्त्रलाई कुनै असर नगर्ने पराजुलीको कथन थियो ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले महेन्द्रचोकमा पूर्वराजा महेन्द्रको शालिक ठडिए कुनै आपत्ति नहुने स्पष्ट पारेका छन् । उनले इतिहासलाई सुरक्षित राख्नु पर्ने बताए । पूर्व राजा महेन्द्रले देशमा राज्य गरेको र देशको लागि गरेको योगदानको कदर स्वरूप ऐतिहासिक व्यक्तिको शालिक राख्नु अन्यथा नभएको घिमिरेको तर्क थियो । उनले भने,‘ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि शुशिल कोइराला, मदन भण्डारी, पूर्व राजा महेन्द्र , वीरेन्द्र जस्ता ऐतिहासिक व्यक्तित्वको शालिक निर्माणले देशको इतिहास चिनाउन मद्दत गर्ने हो । ’
शालिक अनावरण वा पुर्नस्थापनामा दमन गर्नुको कुनै औचित्य नभएको घिमिरेको कथन थियो । उनले शालिक राख्न नपाइने गरी कि त संविधानमा व्यवस्था हुनुपर्ने होइन भने राख्न पाउनु पर्ने तर्क गरे । घिमिरेले ट्राफिक व्यवस्थापनमा कुनै बाधा नपुग्ने गरी शालिक निर्माण गर्न सकिने बताए । नेपाल विद्वत परिषदका उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक वल्लभप्रसाद दाहालले राष्ट्र निर्माताहरूको शालिक भत्काइएको त्यतिखेरको गल्ती हाल आएर महशुश भएको र ती ठाउँमा शालिक पुर्नस्थापनाका लागि सर्वसाधारण स्वस्फूर्त अघि सरेको बताए ।
राजाको कारणले विकास नभएको भनी जनतामा फिजाइएको भ्रमको पर्दाफास भइसकेको हुनाले आजकल जनताको राजतन्त्रप्रतिको सम्मान झनै बढेको दाहालको तर्क थियो । सर्वसाधारणको पूर्व राजाप्रतिको श्रद्धाकै कारण मुलुकभर शालिक पुर्नस्थापनाको लहर चलेको दाहालले दावी गरे । कानून व्यवसायी पुष्पराज दाहालले सामाजिक सञ्जालमा महेन्द्रचोकमा पूर्वराजा महेन्द्रको शालिक स्थापनाको माग गरे ।
विराटनगर–२ का युवा व्यवसायी सञ्जय मानन्धरले महेन्द्रचोकमा यथाशिघ्र महेन्द्रको शालिक स्थापना हुनु पर्ने तर्क अघि सारे । उनले इतिहासका पात्रहरूबाट सिक्ने कुरा धेरै रहेकोले इतिहासलाई लत्याएर देशको विकास गर्न नसकिने तर्क गरे । मानन्धरले भने,‘ हरेकको राम्रो र नराम्रो पक्ष हुन्छ । महेन्द्रको शालिक भत्काउनु भनेको उनले गरेका राम्रो कामको अपमान हो, त्यसैले शालिक बन्नुपर्छ । ’
पब्लिक फोरम मोरङ अध्यक्ष उत्तम ढुंगेलले एक चोटि हटिसकेको वा भत्काइएको शालिकलाई घरी घरी स्थापना गर्छु भन्नु द्वन्द्व निम्त्याउनु हो भने । उनले कुनै व्यक्ति वा संस्थाले चाहेर मात्रै शालिक स्थापना नहुने भन्दै कसको शालिक कहाँ बनाउने त्यो राज्यले निर्धारण गर्ने तर्क गरे । उनले पूर्व राजा महेन्द्रको शालिक निर्माणको कुनै तुक नरहेको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया