सबै स्थानीय पालिकामा श्रमिक हेल्प डेक्स राख्न माग

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७९, मंगलवार १९:४०
1.43k
Shares
विराटनगर / सबै स्थानीय तहमा श्रमिक हेल्प डेक्स स्थापना गर्न ट्रेड युनियन कांग्रेसमा आबद्ध मजदुर तथा कर्मचारीहरूले माग गरेका छन् ।

मुलुकको आर्थिक विकास र समृद्धिमा श्रमिकहरूको महत्वपूर्ण भूमिका भएकाले श्रमिकको समस्या समाधान गर्न हरेक स्थानीय तहले श्रमिक हेल्प डेक्स स्थापना गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाल टे«ड युनियन कांग्रेस जिल्ला कार्य समिति मोरङले मंगलबार कटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमिकका समस्या स्थानीयस्तरमै हुने भएकाले हरेक पालिकाले श्रमिक हेल्प डेक्स राख्नु आवश्यक रहेको औंल्याए ।

नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश–१ अध्यक्ष नारायणबाबु कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनमा मजदुरहरूको अतुलनीय योगदान रहेकाले स्थानीय तहले उनीहरूका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । “पाँच वर्ष जान धेरै समय लाग्दैन, तपाईंहरू आजदेखि जनताले पछिसम्म सम्झने गरी काम गर्नुहोस् त्यसमध्ये मजदुरका हितमा पनि काम गर्नुहोस्,” उनले भने ।

त्यस्तै ट्रेड युनियनका मोरङ अध्यक्ष सुशील कोइरालाले श्रमिकका मुलुक निर्माणमा श्रमिकको महत्वपूर्ण योगदान रहँदै आए पनि राज्यले उपेक्षा गरेको गुनासो पोखे । “तपाईंहरूलाई हामीले लगाइदिएको तौलियामा श्रमिकको पसिना छ,” उनले थपे, “त्यो तौलियाले मसिना पुछ्दा सम्झनुहोस् श्रमिकहरूको पसिनाले आफ्नो पसिना पुछिरहनु भएको छ ।”

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको प्रस्ट पारे । उनले श्रमिकका मागका विषयमा ट्रेड युनियनकर्मीहरूसित बसेर छलफल गर्ने उल्लेख गरे । “तपाईंहरू आउनुहोस् बसेर छलफल गरौं के गर्नुपर्छ श्रमिकहरूका लागि हामी गर्न तयार छौं,” मेयर कोइरालाले भने ।

सो अवसरमा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, कटहरीका अध्यक्ष देवराज चौधरी, जहदाका अध्यक्ष जितेन्द्र साहले पनि श्रमिकका मुद्दालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । सो अवसरमा मेयर र अध्यक्षसहित विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, ६ का अक्षय सहनी, ७ का मधुबाबु तिवारी, १५ का प्रकाश साह र १६ का अध्यक्ष उद्धव भुजेललगायतलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५