animated ellipse animated ellipse

कुलमान घिसिङ्गले पूर्वको उद्योगीप्रति पूर्वाग्रह देखाए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७९, शुक्रबार १९:२४
387
Shares
विराटनगर / मोरङ–सुनसरी कोरिडोरका उद्योगहरुमा विगत ७८ घण्टा देखि विद्युत आपूर्ति ठप्प भएर उद्योगधन्दा सञ्चालन गर्ने अवस्थामा नरहेको यहाँका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् ।

आज मोरङ व्यापार सङ्घमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन् । केही दिनदेखि बिनासूचना औद्योगिक क्षेत्रमा १२ देखि १६ घण्टासम्म विद्यत आपूर्ति अवरोध भएको उनीहरूको भनाइ छ । अघोषित रूपमा भएको लोडसेडिङका कारण उद्योगमा उत्पादनका क्रममा रहेका कच्चा पदार्थ खेर जानका साथै श्रमिकको व्यवस्थापनमा समेत कठिनाइ भएको मोरङ व्यापार सङ्घ अध्यक्ष नवीन रिजालले बताए ।

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ ले संयुक्त विज्ञप्ति निकाल्दै नेपाल विद्युत प्राधिकरणलाई लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने माग गरेका छन् । उनीहरूले विद्युत्को न्यायोचित वितरण गर्नुपर्ने, विद्युत आपूर्ति बन्द भएर उद्योग ठप्प भएको अवस्थामा डिमान्ड शुल्क खारेज हुनुपर्ने र कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेलगायत माग पनि राखेका छन् । अध्यक्ष रिजालले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्गले मोरङ–सुनसरी कोरिडोरको उद्योगी व्यवसायीप्रति हेपायती व्यवहार देखाएको आरोप समेत लगाए ।

भैरहवामा हालसम्म लोडसेडिङको समस्या नदेखिएको र वीरगंजमा दिनमा ४ देखि ६ घण्टा मात्र विद्युतमा समस्या रहेको बताउँदै उनले घिसिङ्गले पूर्वको उद्योगीप्रति पूर्वाग्रह देखाएको बताए ।

‘कोरोना कहरले थालिएको उद्योग–व्यवसाय अहिले लोडसेडिङको समस्याले बन्द हुने अवस्थामा छ’ अध्यक्ष रिजालले भने ‘उद्योग बन्द भए उद्योगी मात्र नभई उद्योगमा आश्रित मजदुरको आय–आर्जन पनि बन्द हुन्छ । त्यसको जिम्मा सरकारले लिनुपर्नेछ ।’

नेपाल उद्योग परिसंघ, प्रदेश– १ का अध्यक्ष भीम घिमिरेले लोडसेडिङको समस्या हल गर्न सरकारले आवश्यक पहलकदमी लिनुपर्ने बताए । उनले सरकारले भारतसँग विद्युत आपूर्ति सहज गर्न सार्थक कुटनीतिक पहल नगरे उद्योगीहरु चरणबद्द आन्दोलनमा उत्रन बाध्य हुने समेत बताए ।

सरकारले मंगलबारसम्म ठोस हस्तक्षेप नगरे बुधबारदेखि उद्योगीहरुले विराटनगरमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी तथा धर्ना दिने घिमिरेले जानकारी दिए ।

उद्योग संगठन, मोरङका कार्यवहाक अध्यक्ष प्रदिप मुरारकाले सरकारले आघोषित रुपमा लोडसेडिङ गर्नु भन्दा घोषित तालिका दिए उद्योगीहरु एउटा निष्कर्षमा पुग्न सक्ने बताए ।

देशमा लोडसेडिङको समस्या देखिएको स्वीकार नगर्ने र खोक्रो रुपमा राम्रो देखाउन खोज्ने सरकारको प्रवृत्तिले समस्या भएको उनले बताए ।

यसअघि पनि विराटनगरको उद्योगीहरुले लोडसेडिङको समस्याले उद्योग सञ्चालन गर्न नसकिने भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यसबेला नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युतको आपूर्ति बढाएर समस्या समाधान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर