पूर्वाञ्चल खबर
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताए । उनले झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयर तथा अध्यक्षका लागि सिफारिस गरिसकेको जानकारी दिए ।
सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले टिकट पाएकी छिन् । झापामा मात्रै तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको मेयरमा गीता अधिकारी, विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् । एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको जनाइएको छ ।
त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव पाठकले बताए ।
मोरङको जहदामा अध्यक्ष सिफारिस भएकी यसोदा गिरीबाहेक आठै जना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए । जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयनरथ गिरी (कृष्ण) सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उनकै श्रीमती यसोदालाई अध्यक्षको टिकट पाएकी हुन् । कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उनी गत भदौमा एमालेमा प्रवेश गरेका थिए । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत भएकी थिइन् ।