पूर्वाञ्चल खबर
विराट टाइम्स मिडिया प्रालिको आयोजनामा शनिबारदेखि ‘मिडियामा एआईको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम’ सुरु भएको हो ।
असार २२ गतेसम्म सञ्चालन हुने तालिममा पत्रकारिता, समाचार लेखन, सम्पादन, डिजिटल सामग्री उत्पादन र तथ्य जाँच (फ्याक्ट चेक) मा एआईको भूमिकाबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा एआईको सुरक्षित, नैतिक र प्रभावकारी प्रयोगका विषयमा छलफल गरिनेछ ।
तालिमको पहिलो दिन प्रशिक्षक जीवन भण्डारीले सहभागीहरूलाई एआई प्रविधिको सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराएका थिए । प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूलाई नवीन औजारहरूसँग अभ्यस्त बनाउने र समाचार उत्पादन प्रक्रियालाई थप गुणस्तरीय बनाउने तालिमको मुख्य लक्ष्य रहेको छ ।
विराटनगरस्थित होटल रुबिजमा जारी तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता छ । सहभागीहरूलाई एआईका विभिन्न उपकरणको प्रयोग, यसका अवसर तथा चुनौती र जिम्मेवार उपयोगबारे प्रयोगात्मक अभ्यास समेत गराइने कार्यक्रम रहेको छ ।
प्रविधिमैत्री पत्रकारिताको विकास गर्दै सञ्चार क्षेत्रलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने विराट टाइम्स मिडिया प्रालिका संचालक अविनाशकुमार निधिले बताए ।