RUMPUM
animated ellipse animated ellipse

खबरदार दलहरु सहि निर्णय गर्न बुद्धिले बाटो बिराउला ।।

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७९, शुक्रबार १४:५३
1.35k
Shares
तिलकुमारी शर्मा
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन संघारमा आइपुगेको छ । सबै पार्टीले आफ्ना उम्मेदवार तय गर्न कसरत गरिरहेका छन्। मुखमा आएको निर्वाचन र उम्मेदवारलाई चासोको रुपमा हेरिएको छ ।

कुन दलले कसलाई कहाँ कुन पदमा उम्मेदवार बनाउने हो भन्ने आम जनचासोको विषय बनेको छ । दलहरु पनि च्याँखे थाप्नमै व्यस्त देखिन्छन्न् । पहिला अरु दलले नाम सार्वजनिक गरे आफुलाई सजिलो हुने दाउमा देखिन्छन् सबै दलहरु । तथापी प्राय सबै दलहरुको उम्मेदवार छनौट कार्य केही ठाउँमा सर्वसम्मत भएको छ भने केही ठाउँमा बाँकी छ ।

नेकपा एमालेका उम्मेदवारको सन्दर्भमा उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख र उपप्रमुखको नाम केन्द्रमा जाने र उतैबाट छनौट हुने बाँकीको प्रदेश कमिटीले छान्ने छ । त्यसैगरी नेपाली काङ्ग्रेस र नेकपा माओवादीको छनौट प्रकृया पनि त्यस्तै छ । महानगरपालिका प्रमुख र उपप्रमुखको केन्द्रले निर्णय गर्ने, बाँकी संसदीय समितिले निर्णय गर्छ, नेपाल महिला संघकी जिल्ला सचिव प्रमिला थापाले बताइन् ।

त्यसैगरी नेकपा माओवादीको महानगर र उपमहानगरको टुङ्गो केन्द्रले लगाउँछ भने नगरपालिका र गाँउपालिकाको सन्दर्भमा प्रदेशले र वडाको सन्दर्भमा जिल्लाले निर्णय गर्छ । सबै पार्टीमा यसरी सिफारिस भई आएका नामहरु निर्णय गर्दा मापदण्ड पुगे नपुगेको हेरिन्छ त ? उम्मेदवार छनौट गर्न कुन पार्टीले कस्तो मापदण्ड बनाएको छ ?

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौटकोलागि ६ बुँदे मापदण्ड तोकेको पार्टीको सर्कुलरमा उल्लेख छ । सर्कुलर अनुसार पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन , लोक प्रियता र विजयको सुनिश्चितता
,आन्दोलनमा योगदान र पार्टी प्रतिको निष्ठा ,कार्य क्षमता,विकास र सुशासनप्रतिको दृष्टिकोण ,सन्तुलन र समावेशिता छन् ।

नेपाली काङ्ग्रेसले भने लिखितरुपमा त्यस्तो मापदण्ड नबनाएको नेपाल महिला संघकी सचिव थापाले बताइन् ।

नेकपा माओवादीले पनि उम्मेदवार छनौटका लागि केही मापदण्डहरु तोकेको छ । जसमा स्वच्छ छवि भएका, नेतृत्व गर्न सक्ने, राजनीति र सामाजिक क्षेत्रमा सकृय भएको हुनुपर्ने आदी जस्ता मापदण्ड बनाएको विराटनगर महानगरपालिका सचिव नमिता नेउपानेको भनाइ छ ।

पार्टीहरुले बनाएका यि मापदण्डमा टेकेर उम्मेदवार छनौट गर्नुपर्ने हो । तर यो मापदण्डलाई मापन यन्त्र ठानेर निर्णय होला त? आम कार्यकर्ताको चासोको विषय बनेको छ ।

अघिल्लो निर्वाचनमा जनप्रतिनिधि बनेकाहरु मध्ये कतिपयले राम्रो काम गरेर छाप छोड्न सके भने कतिपयले मौका यही हो भनेर दुई हातले सोहोर्न खोज्दा आफ्नो मुखमा आफैंले हिलो छ्याप्न समेत पछि परेनन्। चाहे ति जुनसुकै पार्टीका हुन् मौकामा चौका हानेरै छाडे ।

यो निर्वाचनकालागि कसले कस्तो उम्मेदवार उठाउँला, महानगरको नेतृत्व गर्न आउने र विराटनगरलाई अभिभावकत्व दिने व्यक्ति को, कस्तो र कुन पार्टीको होला भन्ने महानगरबासीको मूल चासोको विषय बनेको छ । अर्कातिर कसले कति खर्च चढाउन सक्छ भन्ने कुरालाई पनि जनस्तरबाट महत्वकासाथ हेरिएको छ।

प्रत्येक पटक चुनाव महंगो बन्दै गएको छ । पैसा नहुनेहरु पैसा खर्च गर्न नसकेकै कारण उम्मेदवार बन्न पाउने अधिकारबाट बञ्चित बन्दै गइरहेका छन् । चुनाव लड्न धेरै पैसा चाहिन्छ भन्ने सबैलाई परेको छ । हो प्रत्येक चुनावमा यति र उति खर्च भयो भन्छन तर त्यतिका पैसा कहाँबाट आयो, कति आयो, कहाँ कहाँ कति र कसरी खर्च भयो भनेर न त कुनै लेखाजोखा छ न त बाहिर सार्वजनिक गर्छन न त पार्टी कमिटी भित्र नै छलफल हुन्छ ।

किन महंगो बन्दै छ चुनाव ?
क.आफुले दुख गरेर कमाएको नभै मागेको पैसा भएर
ख. आफु जित्न अर्काे पार्टीको सके उम्मेदवार नसके नेता किन्नुपर्ने भएर ।
ग. भ्रष्टाचार र ठेक्का पट्टा र आर्थिक हिनामिनाबाट जम्मा गरेको रकम भएकाले ?
घ. पैसा नहुने, नेतालाई पैसा खुवाउन नसक्ने र आफुलाई मन नपरेको व्यक्ति आफ्नो पार्टीको उम्मेदवार भए आफ्नोलाई हराई अर्काे पार्टीको उम्मेदवारबाट पैसा खाने र उसलाई जिताउने संस्कार भएर ।
ङ. दिनभरी पार्टीको भोट माग्ने रातभरी अर्काे पार्टीको नोट र रक्सीमा भोट साट्न बार्गेनिङ गर्ने प्रवृत्ति बढ्दै गएर ।
च.हरेक चुनावलाई कमाउने मौकाको रुपमा नेताहरुले लिने गरेर ।
यस्ता अनगिन्ती कारणले चुनाव महंगिदैछ । उम्मेदवारी कस्तालाई बनाइन्छ ?
पैसाको बिटो नेताको पकेटमा पुर्याउन सक्ने, नेताका वरिपरि घुम्ने, चाकडी र चाप्लुसी गर्न भ्याउने, ठेक्का पट्टामा भ्रष्टाचार गर्ने, आर्थिक हिनामिना गर्ने,अगाडि पछाडि २–४ जना लाठ्ठेहरु लगाएर हिड्न सक्ने,त्यस्तै पर्याे भने पैसाकोलागि आफ्नै उम्मेदवारलाई समेत हराउन पछि नपर्ने, बेला बेलामा पार्टीको हुर्मत लिने र ध्वस्तै पार्ने अनि जनताको मतलाई अवमूल्यन गर्नेहरु उम्मेदवार बन्ने गरेका छन् ।

त्यसैले जुनसुकै पार्टीले पनि यस्तो सिण्डिकेट र सेटिङ्बाट यस्ता व्यक्तिलाई उम्मेदवार बनाउन सक्छन् । त्यतिमात्र होइन सिण्डिकेटलाई जिवन्त राख्न सिन्डिकेट चलाउने नेताहरु काठमाडौसम्म धाउने गर्छन् भन्ने आरोप लाग्दै आएको छ दलका नेताहरुलाई त्यसैले यस्ता आशंकालाई सत्य साबित हुन नदिइ सहि निर्णय गर्न बुद्धिले बाटो नबिराओस् दलका नेताहरुको अझै पनि त्यस्तै व्यक्तिको पक्षमा निर्णय होला कि भनेर कार्यकर्ताहरु डराइरहेका छन् । यस्ता व्यक्तिहरुको सिफारिस भएको भएपनि तिनका पक्षमा निर्णय नगरियोस । सेटिङ् र सिण्डिकेटले पार्टीलाई ध्वस्तै बनाउँछ भने कार्यकर्ताहरुमा वितृष्णा पैदा हुन्छ ।

राजनीति गर्ने केही लोभी पापी व्यक्तिका कारण राजनीतिलाई फोहरी खेल भन्छन र मान्छेहरू तटस्थ बस्न खोज्छन । त्यसैले राजनीति फोहरी खेल होइन स्वच्छ प्रतिस्पर्धा गरेर देश चलाउने नीति हो भन्ने सन्देश दिन जरुरी छ । नत्र शहिदहरुको रगतले पोल्नेछ । अर्काे कुरा निर्वाचनमा आफु जित्न अर्काको खल्तीमा जति पैसा लगाउन पनि तयार हुन्छन् कतिपय उम्मेदवारहरु सडक पेटीमा माग्न बसेका दुखी गरिबलाई १० रुपैया दिन नचाहनेहरु यतिका धेरै पैसा खर्च गर्न किन तयार छन् ? विना कुनै पर्वाह खर्च गर्न तयार हुनेहरुले नै हो भोली जितेपछि भ्रष्टाचार, घुसखोरी, अनियमितता, मूल््यबृद्धि गर्ने । त्यसैले यस्ता प्रवृत्ति बोकेका उम्मेदवारलाई सबै मिलेर असहयोग गर्नुपर्छ चाहे उ आफ्नै पार्टीको नै किन नहोस ।

अर्काे कुरा सबै पालिका तथा वडामा जातिय, भौगोलिक सन्तुलन मिलाउन ध्यान पुगास । तर जातीय र भौगोलिक सन्तुलन मिलाउने नाममा आफ्नो पक्षको व्यक्ति तर्फ ढल्किएर र कुनैपनि मापदण्डले नछुने गरि निर्णय नगर्न आम कार्यकर्ता चाहन्छन् । एकातिर एमाले एक्लै र अर्कातिर पाँच दलिय गठबन्धन छ । तैपनि एमाले आफु सबैभन्दा बलियो र शक्तिशाली भएको दम्भ छ । फागुनमा काटेको विरुवाको चैतमा मुना पलाउँछ, किरा लागेको टुप्पा भाँचिएर झरेपछि विरुवाको रुपै फेरिने गरि फेदैबाट नयाँ हाँगा पलाउन थाल्छ । त्यस्तै नेकपा एमाले पनि अझ बलियो र सशक्त भएर मौलाएको छ भन्ने दम्भले एमालेलाई नघेरोस । भाग्यमा छ भन्दैमा डोकामा दुध दुहुन नखोजौं ।

अन्य पार्टी र स्वतन्त्रहरुको लस्कर एमाले तर्फ लम्किरहेको छ । देशैभरि एमालेमा प्रवेश गर्नेको लहर बढ्दै जाँदा एमाले दिनानुदिन बलियो हुँदै गइरहेको छ भन्ने दावी एमालेको छ । यस्तो लहर देशैभरी हुनु, विराटनगरका माडवारी समुदायको ठूलो हिस्सा एमालेमा आउनुको श्रेय केपी ओलीलाई दिन्छन । राष्ट्रियताप्रतिको अडान, निडर स्वभाव,सत्यकुरा बोल्न नडराउने, देश र जनतालाई अप्ठ्यारो परेका बेला सतिसाल जस्तै उभिने र विकास र समृद्धिको सपना देख्ने केपी ओलीको कारणले हो । कुनै पनि स्थानीय नेताको कसरतको कारण यतिका मान्छे एमालेमा बढेका होइनन भन्ने ठम्याई आम कार्यकर्ताको छ ।

त्यसो भए कस्तालाई बनाउने त उम्मेदवार ?
स्वच्छ छवि भएका, कसैले पनि औला उठाउन नसक्ने खालका, एकपटक जनप्रतिनिधि भएर काम गर्दा इज्जतमा कुनै कलंक नलागेका, जितेर जिम्मेवारी सम्हालिरहेको कुनै पनि अवस्थामा समेत स्वभावमा परिवर्तन नआउने, सदावहार एकैनाशको , सबैलाई समान व्यवहार गर्ने, कसैलाई कुनै कारणले विभेद नगर्ने, कुनै पनि लोभ लालच र प्रलोभनमा नपर्ने, पार्टी र जनतालाई सँधै सम्मान गर्ने, जुन पदको उम्मेदवार बनाइँदैछ त्यस पदको नेतृत्व गर्न सक्ने क्षमता भएको, सम्भव भएसम्म जनप्रतिनिधि भएर एक कार्यकाल काम गरिसकेकालाई पदोन्नति गरि उम्मेदवार बनाउने र नयाँलाई सोहि तरिकाले तलैबाट जिताएर ल्याउने, यदि कुनै पदमा पुर्व जनप्रतिनिधि नभएकाहरुको सिफारिस परेको भए ति मध्येबाट उपयुक्त व्यक्तिलाई उम्मेदवार बनाउने।

कसैलाई काखा पाखा नगरी यसरी उम्मेदवार छनौटमा ध्यान पुर्याएर स्वच्छ प्रतिस्पर्धाबाट आएका जनप्रतिनिधिहरु मात्र विकासको रेखा कोर्न सक्ने र जनताको प्यारो जनप्रतिनिधि बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार