खबर पूर्वाञ्चल
विवाद सतहमा आएर पार्टी एकता धरापमा पर्ने खतरा बढेपछि केही सांसदहरूले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो ।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार की पारको रणनीति लिएकोबारे जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र थेग्नै नसक्ने विवाद देखा परेको बताएका थिए । जति कोसिस गर्दा पनि विवाद न्यूनीकरण गर्न नसकेको भन्दै सांसदहरूलाई पनि भूमिका खेल्न आग्रह गरेका थिए । उनले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने अन्तिम प्रयास भइरहेको सांसदहरुलाई सुनाएका थिए । प्रधानमन्त्री ओलीले पार्टी फुट्ने अवस्था पनि आउन सक्ने भएकाले तयार भएर बस्न भनेको एक सांसदले बताए ।
आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेकोले पार्टी विभाजन हुनसक्ने संकेत गरेको ती संसदको भनाइ छ । प्रधानमन्त्रीले तीन चार दिनमा सबै कुरा टुङ्गो लाग्ने जानकारी सांसदहरुलाई गराएका स्रोतको भनाइ छ । एक सांसदले भने, ‘कही कतै कमजोरी भए सच्चाउछु भन्दा पनि साथीहरु मलाई हटाउन लाग्नु भएको छ । विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो । मलाई त हटाउन पार्टीका साथीहरुबाटै घेराबन्दी गरियो ।’
प्रधानमन्त्री ओली पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमप्रति बढ्ता आक्रोशित थिए । जेभन्दा पनि उनीहरू मान्ने अवस्थामा नरहेको पार्टीलाई विभाजनमै लैजान खोजेको प्रधानमन्त्रीको आरोप थियो ।
प्रधानमन्त्री ओलीले अध्यादेश विरोधको बहाना मात्रै भएको बताएका थिए । “अध्यादेश एउटा आवश्यकताले ल्याइएको थियो । साथीहरूले आपत्ति जनाउनुभयो । अरूले पनि विरोध गर्नुभयो । विवाद मत्थर होला भनेर फिर्ता लिइदिएँ । तर उहाँहरूको योजना अर्कै रहेछ, अहिले देखिँदैछ,” प्रधानमन्त्रीले भेटमा भनेका थिए ।
तर पार्टी फुट्न नदिन आफूले प्रयास केन्द्रीत गरेकोबारे पनि प्रधानमन्त्रीले सुनाएको सांसदहरुले बताएका छन् । बैठकमा करीब २५ जना सांसदको उपस्थित रहेको बताइएको छ । सोमबार दिउँसो ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुबीच कोटेश्वरमा लामो छलफल भएको थियो । त्यहाँ नेपाल समूहका नेताले एक व्यक्ती, एक जिम्मेवारीको विषलाई उठाएका थिए । सोही विषयमा लक्षित गरी प्रधानमन्त्रीले आफू पछि नहट्ने बताए छन् ।