खबर पूर्वाञ्चल
विराटनगर १५ रानी नाकादेखि भारततर्फ तस्करी हुन लागेको मानव अंगसहित भारत बिहार प्रदेश पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतमको प्रहरी टोलीले उनलाई मानव अंगसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनको साथबाट मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ । सिंन्हाले कार्टुनमा राखेको मानव अंग प्रहरीले बरामद गरेको थियो । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाउने सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । नेपाल प्रहरीको अनुसन्धानपछि थप विषय खुल्ने उनले बताए ।
सशस्त्र प्रहरीले यसअघि पनि भारतबाट नेपालतर्फ मानव अंग तस्करी गरेर ल्याउने क्रममा विराटनगर १५ रानीदेखि बरामद गरेको थियो । प्रहरीले विराटनगरको ढाटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो । प्रहरीले त्यसेबला भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई पक्राउ गरेको थियो ।