खबर पूर्वाञ्चल
विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ ।
प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन् । दैनिक विहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पु¥याउने लक्ष्यले मैदानमा उत्रिने बताउँछन् । टोलीकी कप्तान कल्पना कार्कीका अनुसार पहिलो संस्करणमा टोली पाँचौँ स्थानमा रहे पनि यसपटक त्यसमा सुधार ल्याउनेछ ।
टोलीमा पहिलो रोजाइकी गोलरक्षकको भूमिकामा रहने कार्कीसँगै हाल बन्द प्रशिक्षणमा १८ जना खेलाडी छन् । गोलरक्षकको भूमिकामा कार्कीलाई सोनु लामा र करिना धिमालले साथ दिनेछन् । त्यसैगरी, टोलीले भारतको वेष्ट बंगाल र झारखण्डबाट समेत ४ जना खेलाडीलाई मैदानमा उतार्नेछ । टोलीलाई यतिबेला मुख्य प्रशिक्षकमा पारस चौधरी र गोलरक्षकको प्रशिक्षकमा करण कार्कीले अभ्यस्त बनाउँदै छन् । टोलीका मुख्य प्रशिक्षक पारस चौधरीका अनुसार टोलीको तयारी आफूले सोचेअनुसार भइरहेको छ । प्रतियोगिताका लागि अभ्यास गर्न महानगरपालिकाले राम्रो समय दिँदा नतिजा पनि अपेक्षाकृत आउनेमा टोली विश्वस्त देखिएको छ ।
प्रशिक्षक चौधरीका अनुसार टोलीमा मध्यपंक्तिमा र अग्रपंक्तिमा समान ७ जना, रक्षात्मकतर्फ ८ र गोलरक्षकको भूमिकामा ३ जनासहित टोली सन्तुलित रहनेछ । टोली महानगरबाट कविता खड्का र अपेक्षा गिरीसहित मोरङका अन्य क्षेत्रबाट ८, धनगढीबाट ४, सर्लाहीबाट ३, धनकुटा, सुनसरी, उदयपुरबाट समान १ र भारतबाट ४ जना खेलाडी टोलीमा अटाएका छन् । टोलीमा रहेका विद्या राना र दिपिसा लामा भने भारतमा हुने १८ वर्षमुनिको साफ च्याम्पियन्सिप खेल्ने तयारीमा छन् ।
टोलीले प्रतियोगितामा पहिलो खेल विभागीय टोली नेपाल पुलिससँग चैत ११ गते खेल्नेछ । यसअघि पुलिसको टोलीलाई पराजित गरेको विराटनगर मैदानमा दबाब बनाउन सफल हुने प्रशिक्षक तथा खेलाडीको भनाइ छ । प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ । होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ ।
प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।