AArya
RUMPUM
animated ellipse animated ellipse

पराजित मोरङका अग्रज नेतालाई पनि साथै लिएर अगाडि बढ्छौं : अर्याल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७८, आईतवार १८:५७
1.23k
Shares
विराटनगर / नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट–उपगुटको अन्त्य भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुटहरू समाप्त भएको दाबी गरे । “म गुटभन्दा पनि विचार समूह भन्न रुचाउँछु, पार्टीको महाधिवेशन सम्पन्न भइसकेकाले सबै विचार समूहलाई समेटेर कांग्रेसलाई सुदृढ र सशक्त पार्टी बनाउनेतर्फ ध्यान दिनुपर्छ,” अर्यालले भने, “महाधिवेशनमा शेरबहादुर दाई, शेखर दाई, विमलेन्द्र दाई र प्रकाश दाईको विचार समूहबीच प्रतिस्पर्धा भयो, म शेरबहादुर दाईको विचार समूहबाट चुनाव लडेर जितें । अब कुनै कटुता र अहमता नराखी अगाडि बढ्नुको विकल्प छैन ।”

उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रूपमा लिएर आगामी तीनै तहको निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए । महाधिवेशनमा गुटभन्दा पनि विचार समूहबीच प्रतिस्पर्धा भएको चर्चा गर्दै उनले सबै विचार समूहलाई समेटेर अगाडि बढेमात्रै आसन्न तीनै तहको निर्वाचनमा देशभर कांग्रेसको जित हुने प्रस्ट पारे । “हाम्रो लक्ष्य र उद्देश्य भनेको आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउनु हो,” उनले भने, “महाधिवेशनमा भएका तिक्ततालाई बिर्सिएर अहिलेदेखि नै कांग्रेसको संगठनलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ ।”

मोरङबाट स्थापित नेताहरू महाधिवेशनमा पराजित भए पनि उनीहरूलाई समेटेर अगाडि बढ्ने उनले बताए । आफूहरू जितको उन्मादमा नरहेको बताउँदै अर्यालले पराजित भएका अग्रज नेताहरूको अनुभव र मार्गनिर्देशन अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । अर्यालको स्वागतका लागि ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू विमानस्थलमा पुगेका थिए ।

मंसिर २४ देखि २८ सम्म काठमाडौंमा भएको १४ औं महाधिवेशनमा प्रदेश–१ बाट अत्यधिक मतका साथ अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर