खबर पूर्वाञ्चल
असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण भएको थिएन ।
आज न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरिर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले बताए । उनका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरलले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ती भराउने गरी फैसला भएको हो ।
यसअघि जन्मकैद सजाय सुनाइएका गोरेलाई अपहरण मुद्दामा १० वर्ष कैदको सजाय भएपनि जन्मकैदमा जोडिने छैन । दुई वटै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजाय मात्रै कायम हुने उनको भनाई छ ।
गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।
सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये २१ जना अझै पनि फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ ।
गोरेसहित ८ जनालाई भने शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । न्यायाधीश लम्सालको इजलासले गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
२०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो । तर सुन तस्करीको ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको हो ।