खबर पूर्वाञ्चल
रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।
तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।
राति करिब २ बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो ।