खबर पूर्वाञ्चल
शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका – ११ का ३९ वर्षीय भीम कामतको आइतबार दिउँसो उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा त्यही क्रममा बेहोस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए । प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले आज जिल्ला प्रशासन कार्यालय अगाडी विराटनगरमा प्रदर्शन गरेका हन् ।
उनीहरूले प्रशासन कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । मृतक कामतको खुट्टामा गम्भीर चोट छ । प्रहरीले यातना दिएर मारेको दाबी गर्दै आफन्त र स्थानीयले शव नबुझी प्रदर्शन गरेका हुन् ।
प्रहरीले शुक्रबार कामतको घरबाट तीन किलो चार सय ८० ग्राम गाँजा बरामद गरेको थियो । उनी जनपथ मार्गमै नास्ता पसल सञ्चालन गर्थे ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार विहान अचानक विरामी परेका कामतलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा दिउँसो करिब साढे १ बजे मृत्यु भएको उनले बताए । मृत्युको कारण पोष्टमार्टमपछि थाहा हुने उनले बताए ।
मृतकको खुट्टामा भने चोट देखिएको छ ।