पूर्वाञ्चल खबर
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिए । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा भोली(मंगलबार) निकालिँदैछ ।
यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा चोक, जलजला चोक , ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी चोक , कञ्चनबारी, राजवंशी चोक र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्ने बताइएको छ ।
समितिका अध्यक्ष ओझाले खटयात्रा विशेष पूजापाठ गरी विराटनगर महानगरपालिका–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने भएको छ । खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले पूजापाठको सामग्री नलिई टाढैबाट दर्शन गर्न समेत समितिले आग्रह गरेको छ । खटयात्रामा नेपाल प्रहरीको बाजासमेत रहनेछ ।
वि. सं. १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)को रुपमा शुरु भएको यात्रा २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो । प्रदेश सरकारले मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रासस