विराटनगर / राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्योती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईबीच विराटनगरमा सम्झौता भएको छ । कम्पाउण्ड बाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपयाँ पौसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।
विराटनगर स्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने,सम्याउने,रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्ने योग्य बनाउन राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ । बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालीस रुपयाँ पौसा एक्चालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।
खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पौसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
सिराहाको गोलबजार एकिकृत खेल मैदानमा तार जाली जडानका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । एक सय असी मिटर तारजाली जडान गर्न कुल ११ लाख २८ हजार १ सय ७८ रुपयाँ पैसा नब्बे लाग्नेमा बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेप सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजावाबु मगरबीच सम्झौता भएको छ ।
सुनसरीको वराहक्षेत्र स्थित बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपयाँ उपलब्ध गराएको छ । बिभिन्न साईजको ७ वटा गेट निर्माणका लागि ११ लाख २१ हजार २ सय ९६ रुपयाँ पैसा सत्ताईस लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेपका सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ ।
।
तपाईको प्रतिक्रिया