विराट गोल्डकपको प्रारम्भिक हिसाबकिताब नोक्सानीमा, आयोजक नाफा ल्याउनेतर्फ जुट्दै

खबर पूर्वाञ्चल, ७ भाद्र २०७८, सोमबार १६:३०
फाइल तस्वीर

विराटनगर / विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको ४ महिना वितिसक्दा आय ब्यय सार्वजनिक हुनसकेको छैन ।

केही समय अघि गोल्डकपको आर्थिक विषयमा बसेको पहिलो बैठकको आंकडा अनुसार प्रतियोगितामा १ करोड ४७ लाख ७० हजार रुपैया आम्दानी देखिएको छ । त्यसैगरि, प्रतियोगितामा १ करोड ६१ लाख ४० हजार रुपैया खर्च भएको देखिएको छ ।

गोल्डकप ट्रष्टका एक पदाधिकारीका अनुसार गोल्डकपले दर्शकको मन जित्न सफल भएपनि आर्थिक रुपमा अपेक्षाकृत फाइदा लिन सकेको छैन । उनका अनुसार सेमीफाइनल र फाइनलमा दर्शकको उल्लेख्य उपस्थिती रहदाँ समेत आर्थिक पाटो कमजोर हुनुले ब्यवस्थापन फितलो भएको हो । भदौ ४ गते गोल्डकपको आर्थिक हिसाबबारे दोस्रो बैठक बसेको थियो । बैठकमा सहभागि एक पदाधिकारीले खर्चको हिसाबले गोल्डकपमा नोक्सानी देखिएको र प्रश्न उठेको जानकारी दिए ।

प्रतियोगिताका लागि १ करोड ४० लाख अनुमानित खर्च लाग्ने जनाएपनि हाल १ करोड ६१ लाखको हिखाब देखिनुले समस्या भएको पदाधिकारीको भनाई छ । यद्धपी, गोल्डकपका संयोजक मनोजविक्रम शाहले गोल्डकपको अन्तिम हिसाबकिताब शनिबारसम्ममा सार्वजनिक हुने जानकारी गराउँछन् । उनका अनुसार अन्तिमसम्ममा गोल्डकपमा ५ देखि ६ लाख रुपैयासम्म फाइदा हुनेछ ।

प्रतियोगिता भव्य भएपनि रकम संकलन भने अपेक्षाकृत हुन नसकेको बताएका संयोजक शाहले पुनः प्रदेश सरकार तथा स्थानीय तहसमक्ष बाचा गरिएको रकमका लागि पहल गर्ने जानकारी दिए ।

प्रतियोगिताको प्रारम्भिक आय ब्यय अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले हाल १४ लाख ७७ हजार ५ सय रुपैया मात्र उपलब्ध गराएको छ । प्रदेश सरकारले गोल्डकपका लागि पहिलो पटक सहयोग गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले ३ लाख ९४ हजार रुपैया उपलब्ध गराएको बताउँदै ट्रष्टका पदाधिकारीले टिकट विक्रीबाट ५९ लाख ७६ हजार मात्र संकलन हुनुले संका पैदा गरेको बताए । बैठकमा छापिएको टिकट संख्या देखि पाससमेतको कुरा उठेको उनले बताए ।

प्रारम्भिक आय ब्यय अनुसार प्रतियोगिताको पुरस्कार राशीतर्फ ३५ लाख ११ हजार, खेलाडी टोलीतर्फ ३७ लाख ९१ हजार, मिडिया तथा प्रचार प्रसारतर्फ १२ लाख ६४ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ १० लाख ६३ हजार, रंगशाला मर्मत र सरसफाई खर्चमा ६ लाख ९१ हजार, मैदान ममर्ततर्फ ५ लाख ४३ हजार ८ सय रुपैया खर्च भएको प्रारम्भिक आंकडामा देखिएको छ ।

यद्धपी, आयोजकले मुख्य प्रायोजकबाट १९ लाख ८५ हजार, आयोजकबाट १० लाख, सह– अयोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, फुड पार्टनरबाट २ लाख ५० हजार, राखेपबाट ३ लाख ९४ हजार, प्रदेश सरकारबाट १४ लाख ७७ हजार, विराटनगर महानगरपालिकाबाट ११ लाख ४८ हजार र टिकट संकलनबाट ५९ लाख ७६ हजार रुपैया संकलन भएको जनाएको छ ।

यसअघि, २०७४ सालमा अस्थायी फ्लडलाईटस्मा सम्पन्न प्रतियोगिताका संयोजक नविन रिजालले ५ लाख ८८ हजार रुपैया नाफा गराएको विराट गोल्डकप ट्रष्टले जनाएको छ । सो प्रतियोगितामा अस्थायी फ्लड लाइटस्मा ८ लाख ८४ हजार रुपैया खर्च देखिएको थियो । ट्रष्टमा यसअघि करिब १७ लाख रुपैया रहेको ट्रष्टीज एवं महासचिव मनोज बस्नेतले जानकारी दिए ।

यसपटकको प्रतियोगितामा सशस्त्र प्रहरी बलको टोली एपीएफले भारतको पञ्जाब पुलिस क्लबलाई १ शुन्यले पराजित गर्दै उपाधि चुमेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५