animated ellipse animated ellipse

जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०७८, बुधबार १८:०५
756
Shares
काठमाडौं / केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ । यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश लिएर ।’

ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिव दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए । तर, उनको दोस्रो इनिङ भने शुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।

नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपर्थ्यो । प्रचण्ड र माधव नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे । तर, त्यसो हुन सकेन र नेकपा हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।

केपी ओली आज सर्वोच्च अदालतको परमादेशबाट बिदाई हुँदा चौतर्फी रूपमा उनको विरोधमात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मुलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् ।

राजनीतिक रूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान् तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले ‘रिकग्नाइज’गरे ।

केपी ओलीमा ५ वर्षभित्रै केही गरौं, जुन कामले आफूलाई सधै सम्झाइरहोस् भन्ने नै थियो तर त्यस अनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गरेनन् । एक्लै हिँड्न खोज्दा ओलीले ५ वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् ।

तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका समूहलाई राज्यका मूल प्रवाहमा ल्याउने चुनौतिपूर्ण काममा सफलता पाए ।

उनको एक्लो प्रयास थियो,सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए । मुलुकको नक्साबाट गायब भएको अतिक्रमित भूमि समेटेर राजनीतिक नक्सा जारीमात्र गरेनन्,त्यसकारण भारतसँग उनको सम्बन्ध समेत नराम्ररी बिग्रियो ।

यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् । सार्क सम्मेलन आयोजना हुन सकेन तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।

यसबीचमा संविधानको पूर्णकार्यान्वयन भएको छ । संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानून ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।

सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र ५ वर्षभित्र ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा अनुरूप तेस्रो वर्षमा ४ हजार पुर्‍याए । भुकम्पपछिको पुनस्निर्माण लगभग टुंग्याएर गएका छन् ओली ।

मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ।

धेर्रै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् । अब जुन सरकार आए पनि ती आयोजना रोकिन सक्दैनन् ।

ओलीलाई सम्झाउने केही कामहरु यस्ता छन् । नेपाल प्रेसबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर