पूर्वाञ्चल खबर
दुवै अध्यक्षका पत्रले आधिकारिकता र वैधानिकता पुष्टि नहुने टिप्पणी गर्दै आयोगले दुवै पक्षलाई वैधानिक रूपमा कारबाही पुष्टि हुने विवरण पेस गर्नसमेत निर्देशन दिएको छ । दुवै पक्षलाई औपचारिक पत्र पठाएर आधिकारिकता पुष्टि हुने कागजात पेस गर्न भनिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए । ‘उहाँहरुले एक अर्कालाई कारबाही गरेको भन्ने निवेदन पेस गर्नु भएको थियो,’ उनले भने, ‘त्यही निवेदनका आधारमा वैधानिकता पुष्टि हुने ठहर नदेखिएकाले प्रक्रियागत रूपमा पुनः पेस गर्न भनिएको हो ।’प्रवक्ता श्रेष्ठका अनुसार दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिमको ढाँचामा मागदाबी पेस गर्न पत्राचार गरिएको हो ।
‘निष्काशन गरिएको विवरण अनुसूची अनुसार नै पेस गर्न भनिएको छ,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित गरेको निर्णयको प्रतिलिपि पनि माग गरेका छौं ।’ हिजो दुवै पक्षले एक अर्कालाई निष्काशन गरेका थिए । हिजो नै निर्वाचन आयोगमा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको भन्दै विवरण अद्यावधिक गरिदिन पत्र पठाएका थिए । त्यसलगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई निष्काशन गरिएको भन्दै विवरण अद्यावधिक गर्न माग गर्दै आयोगमा पत्र पठाएका थिए । दुवै पक्षले पठाएका पत्र प्रक्रियागत रुपमा नआएको भन्दै आयोगले बदर गरिदिएको हो ।