खबर पूर्वाञ्चल
प्रदेश १ को रजधानी विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा दश घण्टाको अन्तरमा एक दम्पतीको मृत्यु भएको हो ।
भारतको मुम्वईबाट पुर्खेउली थलो ताप्लेजुङ घुम्न आएका ६९ वर्षीय वृद्ध पुरुष आफ्नी ६४ वर्षीया श्रीमतीसहित वृद्धको जन्मस्थल ताप्लेजुङ चार महिनाअघि घुम्न आएका उनीहरु मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा बस्दै आएका थिए ।
कोरोना सङ्क्रमण देखिएपछि वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । नोबेलमा श्रीमतीको आज विहानका राति १ बजे र श्रीमानको आजै विहान ११ बजे मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार दुवैमा दमको पुरानै समस्या थियो ।
ताप्लेजुङको घुमफिर सकेर उनीहरु डेढ महिनाअघि पथरीशनिश्चरेमा आएर आफन्तको घरमा बसेको वडाध्यक्ष बाबुराम यङ्देनले जानकारी दिए ।
वडाध्यक्ष यङ्देनका अनुसार मृतक वृद्ध अवकाशप्राप्त भारतीय सेना हुन् । भारतीय सेनाबाट अवकाश पाइसकेपछि उनी परिवारसहित भारतको मुम्वईमै बस्दै आएका थिए ।
कोरोना सङ्क्रमणका कारण दुई देशीय सीमा नाका सिल गरिएको हुँदा दुवै छोराले बाबु–आमाको मृत्युपछिको संस्कारमा सहभागी हुन नपाएको उनले बताए । आफन्तले दम्पतिको शव पथरीशनिश्चरेको जंगलमा अन्त्यष्टि गरेको वडाध्यक्ष यङ्देनले जानकारी दिए ।