कोरोना संक्रमणबाट विराटनगरमा एकै दिन ७ जनाको मृत्यु

खबर पूर्वाञ्चल, २३ बैशाख २०७८, बिहीबार १५:४७

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा कोरोना सङ्क्रमणका कारण एकै दिन सात जनाको मृत्यु भएको छ । मृत्यु हनेमा एक महिला र ६ पुरुष रहेका छन् ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चारसहित विराटनगरमा सात जनाको मृत्यु भएको हो । त्यस्तै नोबेल मेडिकल कलेजमा २ र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको आज विहान मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । उनका अनुसार कोशीमा उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवकको पनि मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

सुनसरीको कोशी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको पनि आजै बिहान मृत्यु भएको छ । उनी बुधबार अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको पनि कोशीमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना वृद्ध पुरुष रहेका छन् ।

पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । आज विहान ८ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक रञ्जितराज बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५