विराटनगर /नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् ।
नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटरिच प्रोगाम’ अन्तर्गत प्रदेश १ मा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूमाझ वर्कशप दिनका लागि वाटमोर विराटनगर आएका हुन् ।
चार दिनसम्म आयोजना हुने वर्कशपअन्तर्गत आज विहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।
चार दिनसम्म विराटनगरमा सञ्चालन हुने वर्कशपको दोस्रो र तेस्रो दिन प्रदेशभरिका राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, वर्कशपको अन्तिम दिन केही मैत्रीपूर्ण क्रिकेट खेल र प्रशिक्षण हुने कार्यक्रम तालिका रहेको प्रादेशिक क्रिकेट सङ्घ प्रदेश एकका उपाध्यक्ष नवीन घिमिरेले जानकारी दिए ।
सन १९९६मा श्रीलङ्कका टीमलाई एक दिवसीय क्रिकेटमा विश्व विजेता बनाउन सफल प्रशिक्षक अष्ट्रेलियन नागरिक वाटमोरले नेपाली खेलाडीहरुलाई आवश्यक शिप तथा व्यवहारिक ज्ञान प्राप्त गरी आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडी आउन सक्ने समेत बताए ।
नेपाल क्रिकेटका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीहरुलाई ह्वाटमोरबाट आवश्यक शिप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।
वर्कशपमा मुख्य प्रशिक्षक वाटमोरसँगै नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, फिजियो विक्रम न्यौपाने, प्रदेश १ क्रिकेट टोलीका प्रशिक्षक प्रदीपराज पाण्डे, जिल्ला क्रिकेट सङ्घ मोरङका प्रशिक्षक महेश रिजाल सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया