खबर पूर्वाञ्चल
विराटनगर जुनियर जेसिजको आयोजनामा २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता शुरु भएको हो । आजको खेलबाट ६ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् ।
पहिलो चरणको खेलबाट जनक स्मृति स्कुल इनरुवा, आदर्श मावि विराटनगर र केभिएम स्कुल विराटनगर सेमीफाईनलमा प्रवेश गरेका छन् । दोश्रो चरणको खेलबाट एभरेष्ट विराटनगर, जेम्स इन्टरनेशनल स्कुल विराटनगर र लिटल फ्लावर स्कुल इटहरी सेमी फाईनलमा प्रवेश गरेको विराटनगर जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले बताए ।
आगामी माघ २ गतेसम्म चल्ने प्रतियोगितामा मोरङ र सुनसरीका सामुदायिक तथा संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको क्वीज मास्टरका रुपमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र पूर्व अध्यक्ष सन्दिपदास श्रेष्ठ रहेका छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विद्यार्थीलाई सहभागि सवै विजेता नहुने भएकाले प्रतियोगितामा सहभागिता जनाउनुनै सफलता भएको बताए । उनले क्वीज प्रतियोगिताको नियमितताका लागि महानगरले बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताको शुरुवातदेखिको प्रायोजक कावरा ग्रुपका नवलकिशोर कावराले प्रतियोगिताको निरन्तरताका लागि २४ बर्षदेखि प्रायोजन गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।
विराटनगर जुनियर जेसिजले २४ बर्षदेखि वीरेन्द्र सभा गृहमा एकै प्रायोजकबाट प्रतियोगिता गर्दै आएको छ ।