AArya
RUMPUM
animated ellipse animated ellipse

तालाबन्दी गरेर विश्वविद्यालय बलियो बन्दैन : मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७७, आईतवार १८:३८
477
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबने बताएका छन् ।

आज पूर्वाञ्चल विश्वविद्यालयको २७ औं बार्षिकोत्सव समारोहका अवसरमा बोल्दै मन्त्री कार्कीले विभिन्न बहाना बनाएर विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउने र तालाबन्दी गरेरमात्रै समस्याको समाधान खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

मन्त्री कार्कीले प्राज्ञिक क्षेत्रको थलो मै तालाबन्दी भइरहने कुराले विश्वविद्यालयको साख घटाएको भन्दै कुनैपनि समस्याको समाधान वार्ता र सम्वादबाट गर्न सुझाव दिए । विश्वविद्यालयभित्रको आन्तरिक खिचातानी र स्वार्थ समुहका कारण २७ बर्षसम्म पनि उचित विकास हुन नसकेको उनले गुनासो गरे । मन्त्री कार्कीले विश्वविद्यालयभित्र राजनीतिलाई जबरजस्ती प्रवेश गराउने कार्य रोकिए सहि दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयको विकास कछुवाको गतिजस्तो भयो, सधैभरी स्वार्थहरु बाझिरहे’ उनले भने, कतिपय समयमा विश्वविद्यालय भित्रैबाट पनि राजनीतिलाई तान्ने काम हुन्छ, यो रोकिनेमा म आशावादी छु ।’  उनले प्रदेश सरकारको तर्फबाट विश्वविद्यालयलाई आवश्यक कानुनी र आर्थिक क्षेत्रमा गर्नुपर्ने सहयोगबारे छलफलका लागि आह्वान गरेका छन् । विश्वविद्यालयको व्यवस्थापन र नेतृत्वलाई साथ सहयोग गर्दै सवै अघि बढ्न सके नेपालकै राम्रो विश्वविद्यालय बनाउन सकिने ठाउँ रहेको जानकारी दिए ।

कार्यक्रमका सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सवैको साथ सहयोगबाट विश्वविद्यालय आफ्नै थलोमा फर्किएको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो कार्यकालभरीमा कुनैपनि पक्षबाट विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य नहुनेमा विश्वस्त हुन पनि आग्रह गरे । उनले विश्वविद्यालयलाई सहज वातावरण बनाएर विराटनगरबाट गोठगाउँ लैजानका लागि वातावरण बनाएको भन्दै उपकुलपति प्राडा यादवराज कोइरालालाई धन्यवादसमेत दिए ।

नगरपालिकाले गोठगाउँचोकदेखि विश्वविद्यालयसम्मको सडक यसैबर्ष कालोपत्रे गर्ने जानकारी दिए । मेयर ढकालले ढुक्क भएर काम गर्न विश्वविद्यालयको नेतृत्वलाई आग्रह गरे । बार्षिकोत्सव समारोहका अध्यक्ष एवं विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिक भन्दा प्राज्ञिक थलोका रुपमा मात्रै आफुले हेरेको बताए ।

बार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा सदस्य गोपी अछामी, प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपाने, स्कुल आफ हेल्थ साइन्सकी क्याम्पस प्रमुख कविता अधिकारी, परीक्षा नियन्त्रक प्राडा सुर्यप्रसाद संग्रौला, प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठ, कर्मचारी संघका सभापति राजकुमार सापकोटा लगायतले शुभकामना दिएका थिए ।

विश्वविद्यालयले यस बर्ष सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित आफ्नै पूर्वाधारयुक्त परिसरमा पहिलो पटक भव्यताका साथ बार्षिकोत्सव आयोजना गरेको हो । उक्त अवसरमा विश्वविद्यालयका सहप्राध्यापक तथा प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपानेलाई दोसल्ला र सम्मान पत्रका साथ विशेष सम्मान गरिएको थियो ।

त्यस्तै विश्वविद्यालयमा २० बर्षे सेवा अवधि पुरा गरेका प्राडा पवनकुमार झा, सहप्राध्यापक रामप्रसाद ढकाल, मुख्य अधिकृत जनकमणि तिम्सिना, अधिकृत पर्वतराज न्यौपाने, मुख्य सहायक निरोद सुवेदी र मुख्य कार्यालय सहयोगी कोपिला खड्कालाई सम्मान गरिएको हो ।

सोही अवसरमा विश्वविद्यालयका विभिन्न कार्यालय र विभागमा रहेर उत्कृष्ठ काम गर्ने १९ जना कर्मचारी तथा प्राध्यापकहरुलाई उत्कृष्ठ सेवा पदक प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर