खबर पूर्वाञ्चल
शिक्षक श्रेष्ठको हत्याबारे स्थलगत अध्ययनको प्रतिवेदन आज विराटनगरमा सार्वजनिक गर्दै प्र्रतिकारमा मारिएको भनी झुठो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको ठहर गरिएको छ । हात बाँधेर लगिएको एउटा निहत्था ५४ वर्षीय व्यक्तिले ६ जनाको हतियारधारी युवा टोलिसँग प्रतिकार गर्नसक्ने संभावना नभएको निश्कर्ष निकालिएको छ । शिक्षक श्रेष्ठको निर्मम यातनापछि विभत्स तरिकाले हत्या गरिएको पुष्टि भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले बताए । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरि लगेर स्थानीय देउढुङ्गा जंगलमा (विप्लव) नेतृत्वको नेकपाले घाँटी रेटेर हत्या गरिएको थियो ।
शिक्षक श्रेष्ठको हत्यापछि त्यस क्षेत्रका बासिन्दा आतंकित रहेकाले राज्यबाट आवश्यक सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न अधिकारकर्मीले माग गरेका छन् । १२ घर रहेको सो क्षेत्रका बासिन्दा सुरक्षा व्यवस्था नभए विस्थापित हुनसक्ने खतरा रहेको प्रतिवेदनमा औंल्याईएको छ । स्थानीय जनताले लामो समयदेखि सुरक्षा कार्यालय स्थापनाका लागि माग गर्दै आएपनि शिक्षक श्रेष्ठको हत्याअघि सुरक्षा पोष्ट स्थापना हुन नसकेको सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । शिक्षक श्रेष्ठको हत्यापछि भने सशस्त्र प्रहरी र जनपथ प्रहरीको अस्थाई रुपमा संयुक्त सुरक्षा आधार शिविर त्यस क्षेत्रमा खडा गरिएको छ ।
अधिकारकर्मीहरुले घटनाका दोषी पहिचान गरी कानुनी कारवाही गर्न तथा डर र त्राशको वातावरणमा रहेका स्थानीय बासिन्दालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन आवश्यक व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीको टोलीले गत मंसिर २९ गते घटनाको स्थलगत अध्ययन गरेको थियो ।