कोभिड १९ : भोगाई एक अनुभूति

खबर पूर्वाञ्चल, १९ कार्तिक २०७७, बुधबार १९:३२

लक्ष्मीप्रसाद उप्रेती
कोरोना भाइरसको विश्वव्यापी माहामारीले आज विश्व आक्रान्त बनेको छ । सामाजिक रूपमा अत्याधुनिक हातहतियारले सुशोभित शक्तिसम्पन्न राष्ट्रदेखि आर्थिक रूपमा विश्वको ठूलो अर्थतन्त्रको दुहाई दिने राष्ट्रसम्म आज कोभिड १९ को महामारीका कारण थिलथिलो भएका छन् ।

कोभिड १९ को महामारीसामू विश्वमा अब्बल दर्जाका ठानिएका स्वास्थ्य सेवाहरू समेत निकम्मा साबित भइरहेका छन् । महामारी सुरुवातको चरणमा कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएर सारा आरोप चीनमाथि थोपर्न खोज्ने पश्चिमा राष्ट्रहरू स्वयम् आज महासङ्कटको सामना गरिगरिरहेका छन् ।

जुनसुकै कारणवाट सुरु भएको भएतापनि चीनबाट सुरु भएको मानिएको कोभिड १९ आज विश्वका दुई सयभन्दा बढी मुलुकमा फैलिसकेको छ । पछिल्लो चरणमा नेपालमा समेत महामारीको रूपमा फैलिएको कोरोेना भाइरसको सक्रमण समुदायस्तरमा फैलिदै गएको देखिन्छ । संक्रमणको विस्तारसँगै पक्ष र विपक्षमा बहस पनि बाक्लिदै गएको छ । अझ खास गरी सामाजिक सञ्जालमा सरकारको लापरवाहीका कारण कोरोना नियन्त्रणभन्दा बाहिर गएको आरोपदेखि लिएर सरकार निकम्मा भएको सम्मका समाचार, विश्लेष्ण तथा टिप्पणीहरू प्रशस्तै प्रकाशित भएका छन् भने अर्को तर्फ सरकार दैनिक औपचारिक प्रेस ब्रिफिङ मार्फत जनस्तरमा गरिएको बेवास्ता र लापरवाहीका कारण कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको आरोप लगाइरहेको छ ।

जेजस्तो आरोप लगाएता पनि, कमजोरी जसको भएतापनि कोरानाको महामारी भने दिन दुई गुना रात चौगुना फैलिरहेको छ । कोरोनाको महामारी विस्तारसँगै सरकारदेखि आम जनसमुदायसम्म सन्त्रास र लाचारीपन दुवै बढेको छ । कोरोना महामारी नियन्त्रणका नाममा सरकार लकडाउन वा अन्य कुनै माध्ययमबाट हस्तक्षेप गर्ने अवस्थामा देखिदैन भने सर्वसाधारण पनि सावधानीका नाममा आफ्नो दैनिकी बन्द गर्न सक्ने अवस्थामा पनि छैनन् । दिनानुदिन परिस्थिति जटिल बन्दै गएको अवस्थामा आरोप प्रत्यारोप र त्यसको समीक्षा उपयुक्त समयमा गर्ने गरी हाल प्रत्येक नागरिकले आफ्नो कर्तव्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने हो की भन्ने आसयका साथ म आफू पनि कोरोना पोजिटिभबाट सक्रमण र त्यसपछि नेगेटिभ प्रमाणित भएको व्यक्ति भएका कारण सङ्व्रmमणको चरणमा मैले भोगेका अनुभव र सङ्व्रmमण मुक्त हुने क्रममा अपनाएका तरिका तथा विधिहरू अन्य सम्भावित सक्रमणमा पर्न सक्ने मित्र तथा मान्यजनहरुकालागि केही सहयोगी हुन सक्ने विश्वासका साथ केही चर्चा गर्ने प्रयास गरेको छु ।

 

सक्रमण पूर्वको सावधानी 
कोरोना सक्रमणबाट बच्ने उपायका बारेमा सरकारीदेखि गैरसरकारी स्तरमा व्यापक रूपमा चर्चा परिचर्चा हुने गरेकाले मैले त्यस विषयमा यहाँ धेरै चर्चा गर्न चाहिनँ । त्यसव्रmममा छुटेको जस्तो लागेको केही विषयमा भने चर्चा गर्नु आवश्यक ठानेकाले यहाँ उल्लेख गर्न चाहन्छु । सक्रमण पूर्व मुख्यतया निम्न अनुसारका क्षेत्रसँग सम्बन्धी सावधानी अपनाउन आवश्यक छ :

१ .व्यक्तिगत रूपमा सक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु : जसका बारेमा प्रसस्तै चर्चा हुने गरेकाले यहाँ चर्चा गरिएन ।

२ .समुदायलाई सक्रमणवाट बचाउने उपायहरू : यसका बारेमा पनि प्रायः चर्चा हुने गरेकाले यहाँ चर्चा गर्नु आवश्यक ठानिएन ।

३ . परिवारलाई सङ्व्रmमणबाट बचाउने उपायहरू : यस विषयमा भने चर्चा नहुने वा साह्रै कम चर्चा हुने गरेको महसुस भएका कारण यस विषयमा केही चर्चा गर्ने प्रयास गरेको छु ।

आफ्नो भूमिका र जिम्मेवारीका आधारमा परिवारका कतिपय सदस्यहरु प्रायः गरेर घर बाहिर पेसा, व्यवसाय, कर्म, सामाजिक जिम्मेवारी आदिका आधारमा विभिन्न भूमिकामा जानुपर्ने हुन्छ । अहिलेको महामारीमा घर बाहिरबाट घर फर्कदा कुनै न कुनै रूपमा घरमा कोरोना सक्रमणको अधिक सम्भावना रहन्छ । जसबाट परिवारका सदस्यमा सक्रमणको अधिक सम्भावना रहन्छ । परिवारलाई सक्रमणबाट बचाउन प्रत्येक व्यक्तिले

निम्नतम निम्न शर्तहरु पालना गर्न अनिवार्य छ  ः
१. बाहिरबाट आएर घर प्रवेश गर्नुपूर्व अनिवार्य साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग गरेर मात्र घर प्रवेश गर्ने ।

२. खाना खाने क्रममा सबैजनाले आफूले खाएको थाल बटुका ग्लास आदि साबुनपानीको प्रयोग गरेर आफुले सफा गर्ने ।

३. आफूले खाना खाएको ठाँउ साबुनपानी प्रयोग गरेर आफूले सफा गर्ने ।
४. खाना पकाएका भाडा अनुकूलता अनुसार सबै मिलेर सफा गर्ने ।
५. आफूले लगाएको र ओडे ओच्छ्याएको कपडा दैनिक रूपमा आफै धुने ।
६. श्रीमान श्रीमती वा छोरा छोरीको सुताई सम्भव भएसम्म एक्ला एक्लै गर्ने ।
७. प्रत्येक व्यक्तिले शौचालय वा बाथरुमको प्रयोग गरिसकेपछि अनिवार्य विशेष सावधानीपूर्वक सरसफाइ गर्ने ।
८. परिवारका प्रत्येक सदस्यले छुट्टा छुट्टै टुथपेष्टको प्रयोग गर्ने ।
९. नुहाउने क्रममा छुट्टा छुट्टै तौलिया र साबुनको प्रयोग गर्ने ।

सक्रमण अवधिको सावधानी :
सक्रमण लक्षणसहित वा लक्षणरहित दुवै हुन सक्छ । सक्रमण नदेखिएको अवस्थामा कन्ट्रयाक ट्रेसिङका आधारमा वा आफूलाई शङ्का भएका आधारमा पिसिआर परीक्षण गराउँदा पनि सक्रमण देखा पर्न सक्छ । यात आफूलाई केही लक्षण देखिएका आधारमा पिसिआर टेस्ट गर्दा पनि सक्रमण देखा पर्न सक्छ । जुनसुकै कारण वा प्रक्रियाबाट सक्रमण देखा परे पनि सावधानीको प्रक्रिया सुरुवात गरिहाल्नु पर्दछ । अहिलेसम्मको अभ्यासमा लक्षण देखा नपरेका सङ्क्रमितको तुलनामा लक्षण देखा परेका सङ्क्रमितलाई बढी गाह्रो भएको पाइएको छ । सङ्क्रमण अवधिमा अस्पताल वा होम आइसोलेसनजा बसे पनि मेरो आफ्नै भोगाईका आधारमा निम्न अनुसारको नित्यकर्म निकै उपलब्धिमूलक हुने महसुस गरेको छु ।

१. तातो पानी अत्याधिक मात्रामा पिउने : सामान्यतया प्रत्येक दुई घण्टामा अनिवार्य रूपमा करिब आधा लिटर सहन सहन सक्नेसम्मको तातो पानी पिउने, तातोपानीमा प्रत्येक पटक अदुवा, बेसार, मेथीको धुलो, ज्वानो, तुलसीको पत्ता जस्ता घरेलु औषधीको उचित मात्रा मिलाएर खाने । दिनमा होस् वा रातमा, बिहान होस्वा बेलुका जतिबेला सास फेर्न गाह्रो हुन्छ, तातो पानी अनिवार्य सेवन गर्ने । यो एउटा अचुक उपचार हुन सक्छ ।

२. पानीको बाफ लिने : कोरोणा सङ्क्रमणको क्रममा लक्षण देखिएमा कम्तीमा दिनमा तीनपटक र लक्षण नदेखिएमा कम्तीमा दुईपटक पानीको बाफ लिन अनिवार्य छ । बाफ लिने क्रममा सुरुमा स्वीचो एक थोपा प्रयोग गर्नु राम्रो मानिए पनि लगातार स्वीचो वा भिक्सको प्रयोग त्यति स्वस्थ्यकर नमानिने रहेछ । पानीको बाफ लिने क्रममा पुदिनाको पत्ता र निमको पत्ता मिलाउनु भने उत्तम मानिने रहेछ । उम्लदा उम्लदैको पानीबाट सिधै बाफ नलिएर झिकेर करिब पाँच सात सेकेण्ड राखेर बाफ लिनुपर्ने रहेछ । जसले गर्दा छालाको बचाउ पनि हुने रहेछ । बाफ लिने बित्तिकै अनुहार पुच्ने गल्ती कहिलै गर्नु हुन्न । बाफ लिनासाथ सुक्खा कपडा अनुहारमा जोडेर पानी सोचाउन भने सकिन्छ ।

३.ध्यान, प्रणायाम तथा योगसाधना : कोरोना सक्रमण भएको समयमा शरीरलाई अधिकभन्दा अधिक तातो अर्थात् हिटमा राख्नु पर्ने रहेछ । त्यसका लागि ध्यान, प्रणायाम तथा योगसाधना उत्तम उपाय हुने रहेछ । यस बेला शरीरलाई बढी थकान हुने भएकाले शरीरलाई कठिन हुने खालका प्राणयाम र व्यायाम भने सङ्क्रमणको समयमा गर्न हुँदैन । सक्रमणका समयमा सामान्य प्रकारका प्रणायम जस्तैःभास्त्रिका प्राणायम, ओमकार प्रणायाम, कपालभाती प्रणायाम, भ्रामरी र अनुलमबिलोम मात्र गर्नु उपयुक्त मानिन्छ । त्यसैगरी व्यायाम अन्तर्गत पूर्ण व्यायाम नगरी सुक्ष्मव्यायाम मात्र गर्नु राम्रो हुनजान्छ । ध्यान भने आफ्नो अनुकूलता अनुसार गर्न सकिने छ ।

४. खानपिन : सङ्क्रमणको बेला जिब्रोले खानाको कुनै स्वाद नपाउने भएकाले खानामा कुनै प्रकारको रुची हँुदैन । तर पनि पौष्टिकतापूर्ण झोलिलो खानेकुरा खानु अति आवश्यक हुन जान्छ । यो बेला दुध बेसार मिलाएर खानु उत्तम हुन जान्छ । त्यसैगरी मह, चवनप्रास, दाल, गेडागुडीको रस, माछामासुको रस (ज्वरो कम भएपछि मात्र) आदि खानु राम्रो मानिन्छ । सबैप्रकारका फलफूललाई प्राथमिकतामा राखेर खानु पर्छ । तर फलफूल खाँदा अनिवार्य रूपमा तातोपानीमा करिब पाँच मिनट डुबाएर मात्र खानु पर्दछ । अन्यथा निमोनियाको खतरा हुनसक्छ । स्वास प्रस्वासमा कठिनाई भएमा प्रत्येक पाँच मिनटमा मरिचको दाना मुखमा हालेर चपाउनु उपयुक्त हुने रहेछ ।

५. औषधी सेवन : कोरोना भाइरस निर्मुल पार्ने औषधी पूर्ण रूपमा प्रयोगमा आइनसकेको सर्वविधितै छ । त्यसकारण ज्वरो आएको अवस्थामा बिहान बेलुका एक एक पटक वा डाक्टरको सल्लाह अनुसार पारासिटामोल सेवन अनिवार्य मानिन्छ । सामान्य लक्षण देखिएमा डाक्टरको सल्लाह अनुसार एन्टिबाइटिकको डोज र भिटामिन सी र डी प्रयोग गर्नु उपयुक्त हुने रहेछ ।

६. डाक्टरसँगको नियमित सम्पर्क : लक्षण नदेखिएका सङ्क्रमितको हकमा डाक्टरसँगको नियमित सम्पर्क त्यति बाध्यकारी नभएपनि लक्षण देखिएका सङ्क्रमितहरुको हकमा भने होम आइसोलेसनमा बसेको अवस्थामा पनि डाक्टरको नियमित सम्पर्क र सल्लाह अनिवार्य हुन जान्छ । किनकि कुनै पनि बेला बिमारीलाई अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ ।

७. व्यक्तिगत सरसफाइमा जोड : सङ्क्रमणको समयमा व्यक्तिगत सरसफाइ अत्यन्तै संवेदनशील हुन जान्छ । प्रत्येक दिन तातोपानीले नुहाउन अनिवार्य छ । सङ्क्रमितले लगाएका र ओडे ओछ्याएका कपडा प्रत्येक दिन भरसक तातोपानीले बिरामी स्वयम्ले सफागर्नु पर्दछ । बिरामी आइसोलेसनमा बसेको कोठा बिरामी स्वयम्ले प्रत्येक दिन फिनेललगाएर पुछ्नु पर्दछ । सङ्क्रमित व्यक्तिले थुक, खकार, सिँगान वा ¥याल कुनै पनि हालतमा झ्याल ढोका बाहिर फ्याक्ने वा कुनामा फ्याक्ने जस्ता कार्य गर्नु हुँदैन ।

८. बन्दोबस्तीका सामान व्यवस्थापन ः सङक्रमित होम आइसोलेसनमा बस्नुपर्ने भएमा कोठामा पेडल डस्टबिन (बिर्को भएको फोहोर राख्ने टोकरी),पानी तताउने भाँडो, तातोपानी राख्ने थर्मस, तातो पानीको बाफ लिने भाँडो, खाना खाने थाल, बटुका, ग्लास, चम्चा लगायतका बन्दोबस्तीका सामानको व्यवस्थापन अनिवार्य गर्नुपर्छ ।

९. संगीत श्रवण ः सङ्क्रमणको समयमा भिडियो संगीतभन्दा अडियो संगीत सुन्नु राम्रो मानिन्छ । अडियो संगीत पनि स्लोमोसनको सुन्नु अझबढी राम्रो जस्तो लाग्यो । सङ्क्रमणको समयमा सकेसम्म कोरोना सम्बन्धी समाचार नसुन्ने सल्लाह डाक्टरहरुले पनि दिँदा रहेछन् ।

१०. अक्सिजन र अक्सोमिटरको व्यवस्थापन ः बिरामीमा लक्षण देखा परेको छ र होम आइसोलेसनको बसाइँ छ भने कुनै पनि बेला अक्सिजन आवश्यक पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अक्जिनको व्यवस्थापन जरुरी हुन जान्छ । त्यसै गरी बिरामीको अक्सिजनको मात्रा बेलाबेलामा जाँच गर्न अक्सोमिटरको व्यवस्था पनि होम आइसोलेसनको अवस्थामा अनिवार्य गर्नुपर्ने हुन जान्छ । समय समयमा ज्वरोको मात्रा मापनका लागि साथमा थर्माेमिटर पनि अत्यावश्यक हुने रहेछ ।

११. पिसिआर पुनः परीक्षण ः एकपटक कोराना पोजिटिभ भएका व्यक्तिले लक्षण देखिएको हकमा कम्तीमा चौध दिनपछि र लक्षण नदेखिएकाको हकमा कम्तीमा दश दिनपछि मात्र पुनः पिसिआर टेष्ट गर्नु उपयुक्त मानिने रहेछ ।

सक्रमण मुक्तपछिको सावधानी : कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुमा पुनः परीक्षणबाट नेगेटिभ आउनासाथ पूर्ववत अवस्थामा स्वतन्त्रता पूर्वक आफ्ना गतिविधि भने अगाडि बढाउनु ठूलो गल्ती हुन जानेछ । डाक्टरहरुका अनुसार पुनः परीक्षणबाट नेगेटिभ नतिजा आएतापनि कम्तीमा सात दिनसम्म सावधानी र सतर्कता अपनाउनु पर्ने हुन्छ ।

आफ्नो भोगाइका अनुभव र लक्षणहरु : म आफू कोरोना पोजिटिभ पुष्टि हुनुभन्दा पहिला कोरोना बारेमा मैले बनाएको धारणा र कोरोना सङ्क्रमणपछिको धारणामा परिवर्तन आएको छ । सङ्क्रमणपूर्व कोरोना लागि हालेतापनि सजिलै परास्त गर्न सकिन्छ भन्ने मेरो धारणा रहेको थियो । म आफूलाई स्वास्थ्यको बारेमा सचेत रहेको र मेरो स्वास्थ्यमा हालसम्म कुनै समस्या नभएका कारण यदि कोरोना लागि हालेता पनि सजिलै परास्त गर्न सकिन्छ भन्ने विश्वास थियो । तर, जब म सङ्क्रमित भएँ त्यसपछि मलाई सोचेभन्दा निकै गाह्रो पा¥यो । मलाई सङ्क्रमणपूर्व नै केही लक्षणहरू देखिएका थिए । सङ्क्रमणका क्रममा पनि थप लक्षणहरू देखिए ।

सक्रमण परास्त गर्न सक्ने आत्मविस्वास ममा सुरुदेखि नै थियो । त्यसकारण म पूर्ण संयमित अवस्थामा थिए । मेरो र परिवारको चेतनाले भ्याएसम्मका स्वास्थ्य सुरक्षा सतर्कताका सबै उपायहरू अवलम्बन गर्दै विशेषज्ञ डाक्टरको निगरानीमा होम आइसोलेसनमा बसेर नै स्वास्थ्य लाभ गर्दै कोरोना परास्त गर्न सफल भइयो ।

सङ्क्रमणका क्रममा आफूले महसुस गरेका लक्षण र विशेषताहरू :
 परीक्षणको दुई दिन अगाडि सुरु भएको ज्वरो परीक्षणपछि पनि आठ दिनसम्म लगातार आइरहेको ।
 परीक्षण भन्दा करिब १५ दिन अगावै सुरु भइको सुख्खा खोकी परीक्षणको दश दिनसम्म पनि लगातार जारी रहेको ।
 करिब आठ दिनसम्म खानाको स्वाद नरहेको ।
 रातीको समयमा सुत्न र सास फेर्न असाध्य गाह्रो भएको ।
 गला अवरुद्ध भई स्वास प्रस्वासमा कठिनाइ भएको ।
 करिब दश दिनसम्म असाध्य धेरै पटक दिशाका लागि शौचालय जानु परेको ।
 दिशा अलकत्र जस्तो असाध्यै कालो गएको ।
 जिउ थामिएर बस्न गाह्रो भएको ।
 बेला बेला छाती दुख्ने गरेको ।
 हात खुट्टा लगायत शरीरका विभिन्न भाग पटक पटक बाउडिएको ।
 करिब आठ दिनदेखि शरीरमा असाध्य कमजोरी महसुस भएको ।

अन्त्यमा :
विश्वव्यापी तहल्का मच्चाउने गरि फैलिएको कोभिड १९ को सक्रमण ममा नभइदिएको भए यसलाई नजिकबाट चिन्ने र आफू साक्षात्कार हुने अवसर सायद प्राप्तहुने थिएन होला । त्यसकारण कोभिड सङ्क्रमणलाई मैले अवसरको रूपमा लिँदै यसबाट पनि शिक्षा लिने प्रयास गरेको छु । कोभिड १९ सावधानीका बाबजुद जो कोहीलाई पनि हुन सक्छ । तर, आत्मविस्वास र अनुशासनले मात्र यसलाई परास्त गर्न सकिने मेरो अनुभव रहेको छ । यसै क्रममा आफ्ना भोगाई र अनुभवहरू अन्य सम्भाव्य सङ्क्रमितहरूकालागि समेत उपयोगी हुनसक्ने विश्वासका साथ यस आलेख मार्फत सबैसामू पस्कने जमर्को गरेको छु ।

अप्ठेरो परेका बेला सबैले साथ, सहयोग र सद्भावको खोजी गर्दो रहेछ । कोभिड १९ को सक्रमणसँग जुधिरहेको समयमा छोरो छिट्टै निकोहोस्भनेर बिहान बेलुकै इश्वरसँग प्रार्थना गर्नुहुने छ्यासीवर्षीया आमा, आफ्नो स्वास्थ्यको प्रतिकूलताका बाबजुत मेरो रेखदेख हेर विचारमा अलिकति पनि कमी हुन नदिइ अहोरात्र खट्ने जीवनसंगिनी र छोरी, आफु स्वयम् ज्वरोका कारण बिमारी भएर पनि बाबुको स्वास्थ्य अवस्थाको बारेमा हर क्षण चिन्तापूर्वक खोज खबरी गर्ने छोरो,होम आइसोलेसनको अवस्थामा विशेष सल्लाह र सुझाव दिनुहुने वरिष्ठ फिजिसियन विशेषज्ञ डाक्टर पिताम्बर ठाकुर, हरेक अप्ठ्यारो परिस्थितिमा साथ दिने पत्रकार भाइ सिस्नो, परिवारमा कोरोना सङ्क्रमणबाट चिन्तित परिवारजन, आफन्त तथा नातेदार, संस्था परिवार, सहकारी बंैक एवम् महासंघ परिवार, पार्टी परिवार लगायत स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुक एवम् इस्टमित्रहरूमा हार्दिक आभार साथै कृतज्ञता व्यक्त गर्दछु ।

लेखक काकडभिट्टा बहुमुखि क्याम्पस मेचि नगर झापाका क्याम्पस प्रमुख हुन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५