खबर पूर्वाञ्चल
अप्रेसनको क्रममा असोज २६ गते मृत्यु भएका सिरहाको सिरहा नगरपालिका ४ मानपुरका दुई बर्षीय बालक सिद्धार्थ सदा (मुसहर) को शव शुल्क वापतको चालीस हजार रुपैया तिर्न नसक्दा आफन्तलाई दिन विराट अस्पतालले ईन्कार गरेको हो ।
अस्पताले शव दिन इन्कार गरेपछि मृतक बालकका आफन्तहरु शव रुवाबासी गर्दै अस्पतालमा धर्ना बसिरहेका छन ।
बालककी आमा सुनिता सदाका अनुसार उपचारका क्रममा ऋण खोजेर ल्याएको एक लाख रुपैया खर्च भैसेकोले र थप ऋण खोज्न सक्ने अवस्था समेत नभएकोले दाहसँस्कारका लागि छोराको शव लान पाइएलाकी भन्ने आशमा अस्पतालमा रुदै बस्न बाध्य भएको बताइन् । उनका अनुसार अस्पतालको चालीस हजार र औषधी वापत फार्मेसीको ६० हजार तिर्न बाँकी छ ।
पेटको ठूलो आन्द्रामा समस्या भएर नातीलाई उपचारका लागि विराटनगर मुनालपथ स्थित विराट अस्पतालमा भर्ना गरिएको थियो । तर दुई पटक अप्रेसन गर्दा पनि बालक नाति बाँच्न नसककेो हजुरआमा कलावती सदाले बताइन । उनले भनिन , ‘पैसा खोजेर ल्याउने हाम्रो कुनै उपाय छैन नातिको शव नदिएसम्म हामी अस्पतालमै बसिरहन्छौ ।’,
गरिब भूमिहिन सदा परिवारले चालिस हजार रुपैया पछि तिर्ने गरि बालकको शव दिन अस्पताल प्रशासनसँग हारगुहार गरेको थियो । तर ‘तिमिहरुजस्ता धेरुै आउँछन यसरी त अस्पताल टाट पल्टिन्छ ’ भन्दै पैसा दिएमात्र शव दिने अस्पताले अडान लिएको हजुरबा रामकुमार सदाले बताए ।
मृतक बालकका बाबु सुनिल सदाको गतबर्ष सवारी दुर्घटनामा मृत्यु भएको थियो । यसैले घरमा कमाउने पनि कोही नभएकोले दुई जना छोरा हुकाउँन समस्या भएको आमा सुनिता बताउँछिन । उनले रुदै भनिन, ‘न कमाउने मान्छे छन नत जग्गा जमिन छ भएको पैसा सबै सकिहाल्यो अब अरु पैसा कहाँकाट ल्याउने होला?’ उनका दुई छोरा मध्ये कान्छा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।
भूमिहिन दलित समुदायको बालकको मृत्यु भएकोले चालिस हजार रुपैया पछि दिनेगरि शव दिन आग्रह गर्दा पनि अस्पतालले नमानेको समुदायका अगुवा धर्मेन्द्र ऋषिदेबले बताए।
विराट अस्पतालका प्रशासन प्रमुख पदम विदारीले अस्पतालले हदैसम्म डिस्काउन्ट गरेर चालिस हजार रुपैया मात्र बुझाउनेगरि सहयोग गरेको तर त्यत्तीपनि नबुझाए शव जिम्मा दिन नसकिने बताए ।