पूर्वाञ्चल खबर
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा अहिले विद्यार्थीहरू घरमै बसेर अध्ययन गर्दै आएका छन् । घरमा बसेका विद्यार्थीहरूलाई लक्षित गरि आर्दश स्कूलले परियोजनामा आधरित रहेर अफलाइन शिक्षा अभियान प्रराम्भ गरेको स्कूलका प्राचार्य तुलसीप्रसाद दुलालले जानकारी दिए ।
‘संक्रमणले गर्दा अहिले विद्यार्थीहरू घरमा छन् । अनलाइनको पहुचमा नरहेका विद्यार्थीहरूलाई लक्षित गरि अहिले प्रश्नपत्र लिएर परियोजनामा आधरित रहेर शिक्षा दिदै आएका छौं,’ प्राचार्य दुलालले भने, ‘अफलाइन अभियानमा १ देखि कक्षा १० सम्म अध्ययरन गर्ने विद्यार्थीहरू जोडिन्छन् ।’ अफलाइन शिक्षा विद्यार्थीलाई दिन अहिले आर्दश स्कूलले ६ वटा शिक्षकको समूह बनाएको छ । प्रत्येक समूहमा पाँच जना शिक्षक हुन्छन् । उनीहरू स्कूलको सेवा क्षेत्र भित्र रहेका विद्यार्थीहरू माझ पुगेर तयार पारेको प्रश्न पत्र र परियोजना कार्य दिनेछन् । स्कूलले विद्यार्थीहरूको लागि तयार पारेको प्रश्नको उत्तर विद्यार्थीले सिर्जनात्मक तरिकाले दिनुपर्ने हुन्छ । उनीहरूले अध्ययन गरेको पाठ्यपुस्तक, अन्य विभिन्न पुस्तक, अनलाइनमा भएका सामाग्री तथा विषयगत शिक्षकहरुलाई फोन गरेर वा प्रत्यक्ष भेटर आफ्नै मौलिक शैलीमा सिर्जनात्मक उत्तर दिनुपर्ने स्कूलले जनाएको छ ।
‘विद्यार्थीको घरमा पुगेका शिक्षकले परियोजनामा आधारित रहेको प्रश्नपत्र लिएर जानुहुन्छ,’ स्कूललका प्राचार्य दुलालले भने, ‘विद्यार्थीलाई प्रश्नपत्र छोडेपछि भोलीपल्ट विद्यार्थीले दिएको उत्तर पुस्तिका लिएर आउनुहुन्छ ।’ यो अभियानमा अहिले ३० जना शिक्षक रहेको स्कूलले जनाएको छ ।
शिक्षकको ६ वटा समूहले विराटनगर महानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका भित्रका विद्यार्थीहरूको घरमा पुगेर परियोजनामा आधारित शिक्षा प्रदान गर्दछ ।
स्कूलले यस बाहेक अनलाइन कक्षा पनि संचालन गर्दै आएको छ । कक्षा ६ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरू अहिले अनलाइन कक्षामा जोडिदै आएको स्कूललका प्रचार्य दुलालले बताए । ‘बिहान ६ देखि १० बजेसम्म अनलाइन कक्षा संचालन हुदै आएको छ,’ उनले भने, ‘शिक्षकले अनलाइन कक्षा संचालन गरेपछि परियोजनामा आधारित शिक्षा विद्यार्थीलाई दिन अभिभावको घरमा पुग्छन् ।’ कोभिडले गर्दा लामो समयसम्म स्कूल बन्द भएपछि अहिले अनलाइन कक्षा प्रभावकारी भएको दुलालको भनाई छ । ‘हामीले सुरू गरेको अनलाइनमा कक्षामा ७० देखि ९० प्रतिशत विद्यार्थीले प्रत्यक्ष रूपमा अनलाइन कक्षामा अध्ययन गर्दै आएका छन्,’ उनले भने, ‘अहिले प्रमुख विषयहरू अनलाइन कक्षाबाट अध्ययन हुने गरेको छ ।’ अनलाइन कक्षा प्रति अहिले विद्यार्थीको चासो बढेर गएको उहाँको भनाइ छ । आर्दश स्कूलमा २ हजार ९ सय विद्यार्थी छन् ।