पूर्वाञ्चल खबर
कलेज व्यवस्थापन समितिले निर्णाय अनुसार यस शैक्षिक सत्रकालागि कक्षा ११ मा भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण छात्रवृती र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृती दिने भएको हो ।
कलेज परिसरमा आज पत्रकार सम्मेलन गरि महामारीको रूपमा फैलिएको कोभिड १९ ले गर्दा अभिभावकलाई आर्थिक समस्या पर्न गएको हुनसक्ने भएकोले भर्ना हुने विद्यार्थीहरूको लागि छात्रवृती घोषणा गरिएको कोवास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । ‘जेहन्दार र आर्थिक अवस्था नाजुक भएका १ सय विद्यार्थीहरूलाई निःशुल्क अध्यापन गराइन्छ,’ उनले भने, ‘तीन सय विद्यार्थीहरू आंशिक छात्रवृती प्रदान गरिन्छ ।’ विद्यार्थीहरूलाई दिने पूर्ण र आशिंक छात्रवृती २ करोड १३ लाख १५ हजार बरावरको भएको प्रिन्सिपल श्रेष्ठको भनाई छ ।
‘कोवास कलेजमा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुदै आएको छ । यस वर्ष दुई संकायमा गरि जम्मा ४ सय जनाको कोटा हो,’ उनले भने, ‘भर्ना भएका सबै विद्यार्थीहरूले एसईईमा ल्याएको नतिजा अनुसार छात्रवृती पाउनेछन् ।’ कलेजको अनुसार एसईईमा ३.९० जिपिए ल्याएर उत्तिर्ण भएका ५०÷५० जना विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा पूर्ण छात्रवृती पाउनेछन् । यस्तै ३.८५ जिपिए ल्याउने विज्ञान संकायतर्फ २५ र व्यवस्थापन तर्फ २५ जना विद्यार्थीले ९० प्रतिशत छात्रवृती पाउनेछन् । यसैगरि ३.८० जिपिए ल्याउने ५० जनाले ८० प्रतिशत, ३.७५ जिपिए ल्याउने ५० जनाले ६० प्रतिशत, ३.७० जिपिए ल्याउने ५० विद्यार्थीले ५५ प्रतिशत, ३.६५ जिपिए ल्याउने ५० जनाले ५० प्रतिशत र ३.६० प्रतिशत ल्याउने ५० विद्यार्थीले ४५ प्रतिशत छात्रवृती पाउने कलेजले जनाएको छ ।
कक्षा ११ मा विज्ञान संकाय अध्यापन गर्न ९८ हजार र व्यवस्थापन संकायमा ४९ हजार रुपैयाँ खर्च लाग्दछ । दुवै संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृती प्रदान नगर्दा स्कूललाई कूल आम्दानी २ करोड ९४ लाख हुन आउँछ । १ सय विद्यार्थीलाई पूर्ण छात्रवृती र ३ सय विद्यार्थीहरूलाई आंशिक छात्रवृतीमा २ करोड १३ लाख १५ हजार रुपैयाँ खर्च हुँदा पनि वर्षमा ८० लाख ८५ हजार रुपैयाँ आम्दानी हुने गरेको कलेजका प्रिन्सिपल श्रेष्ठको भनाई छ । ‘क्षात्रवृती दिएर आम्दानी भएको ८० लाख ८५ हजार रुपैयाँले शिक्षक, कर्मचारी र प्रशासनिक खर्च हुने गरेको छ,’ उनले भने, ‘हामीले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर सामाजिक कार्य गरेका हौं ।’