बाढी, डुवान र पहिरोका कारण मोरङमा एकसय बढी घर परिवार विस्थापित
खबर पूर्वाञ्चल
२८ असार २०७७, आईतवार २०:२८
3
Shares
विराटनगर / अविरल वर्षासँगै आएको बाढी, डुवानका कारण मोरङमा एकसय बढी घर परिवार विस्थापित भएका छन् ।
केशलिया खोलामा पानीको बहाव बढी भई बस्तीमा पस्दा विराटनगर १२ का ३० घर परिवारका १ सय ५० जना, विराटनगर १६ दरैया बस्तीका ५० घरका २ सय ५०, विराटनगर–६ को सिम्राही टोलमा पानी पस्दा मुसहर बस्तिका १० घरहरु डुवानमा परेका छन् । केही दिनदेखि परेको अबिरल वर्षाका कारण विराटनगरको विभिन्न भाग डुबानमा परेको छ ।
विराटनगर र सुनसरीको सिमामा रहेको केशलिया, फुप्री र सिंघीया खोलाको जलस्तर बढेसँगै आसपासका विभिन्न भागहरु डुबानमा परेको हो । अबिरल बर्षाका कारण यस बर्ष पनि वडा नं. १२ को सिमराई बस्ती, वडा नं. १६ को दरैया बस्ती,विराटनगर–६ नजिकैको ब्रहमपुरा, वडा नं. ८ को सुकुम्बासी बस्तीलगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।
हालसम्म निकै जनधनको क्षति नभएपनि नदी आसपासका ५ हजार बढी घर डुबानको उच्च जोखिममा रहेका छन भने ७० प्रतिशत घर डुबानमा परिसकेका छन् । निर्वाचित जनप्रतिनिधिहरुले बाढीको उच्च जोखिममा रहेका घरपरिवारको व्यवस्थापनमा खासै रुचि नदेखाउँदा यस बर्ष पनि विराटनगमा मात्रै ९५ बढी घर डुबानमा परेको स्थानीयहरु बताउँछन् ।
त्यस्तै कानेपोखरी –५ मा चिसाङ खोलाले कटान शुरु गरेपछि ७ घर परिवारका ३२ जनालाई स्थानीय भंसावारी विद्यालयमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्षाका कारण चिसाङ खोलामा आएको बाढिले कानेपोखरी २ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवको घर बगाएको छ । उनीहरुलाई स्थानीय विद्यालयमा सारिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । वर्षा सँगै परेको पानीको कारण पहिरो झर्दा मिक्लाजुङ २ कुवापानीका रणकुमार राईको घर पुरिएको छ । उहाँको घर बस्न नमिल्ने गरि पुरिएको डिएसपी राईले बताए ।
उर्लाबारीमा ३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा डेढ दर्जन घर परिवारको धानीवाली बगाएको छ । प्रहरीका अनुसार भर्खरै रोपेको डेढ दर्जन घरपरिवारको १२ विगाहा खेतमा लगाईएको धानवाली खोलाले बगाएको छ । रंगेली ८ नहर चोकमा चिसाङ खोलामा आएको बाढीका कारण ४० विगाहामा लगाईएको धान खेत डुवाएको छ ।