खबर पूर्वाञ्चल
वर्षाको कारण खोलाको बहाव बढेसँगै विराटनगरसँगै सिमा जोडिएको कटहरी गाउँपालिका– १ सिंघिया खोला किनारमा रहेको टाइगर टोलका स्थानीय बासीहरु विस्थापित भएका छन् भने विराटनगरका १ र र २ वडाको बस्ति जोखिममा परेको हो ।
विराटनगर १ को गंगाचौक, २ को सुकुम्बासी बस्ती र कटहरी गाउँपालिका १ टाइगर टोलको सिंगो बस्ती बाढीले जोखिममा रहेको स्थनीय बताँउछन् । नदीबाट जोगिन तटबन्ध पनि बनाइएको भए पनि घरखेतमा पस्न थालेको कटहरी १ टाइगर टोलकी मनसरीया पासवानलले बताइन् । गत वर्षपनि ठूलो बाढी आएकोले अहिले पनि दुई दिनयतादेखि परेको वर्षाले सिंघिया खोलाको बहाब बढेको कारणले यहाँका स्थानिय समस्यामा परेको उनले बताइन् । कतिबेला बाढी आउला, घर बगाउँछ भनेर रातभरी नसुति जागरम बस्ने गरेको उनले सुनाइन् ।
कटहरी १ टाइगर बस्तीमा रहेका ८० घरधुरी बढी जोखिममा रहेको स्थानियले बताए । टाइगर बस्तीका एक दर्जन बढी घर भित्र सिंघिया खोलाको पानीको बहाब बढेर पस्न थालेपछि आफन्तको घर र खाली चौरमा टेण्ड टाँगेर बस्न थालेका छन् । घर भित्र पानी पस्न थालेपछि पाँच जनाको परिवार लत्ताकपडा र खाद्यान्यको पोको बनाएर नजिकको खाली चौरमा बस्न थालेको कटहरी १ डाइगर बस्तीका गोपी सिंहले बताए । दुई दिनयतादेखि परेको पानीको बहाब बढेपछि सिंघिया खोला घर भित्र पसेको उनले बताए । ठूलो वर्षा सुरु हुनेबित्तिकै सिंघिया खोला सुसाएर आउने भएकोले रातभर सुत्नसक्ने अवस्था नरहेको सिंहले बताए ।
‘सहरमा बस्ने पैसा छैन, यही खोला किनारमा बस्नु रहर कहाँ होर ? बाध्यता हो’ ६० वर्षीय दिलसरिया पासवानले भनिन् । उनी र उनको ६ जनाको परिवार कटहरी–१ टाइगर चोकमा ११ वर्षदेखि बस्दै आइरहेका छन् । श्रीमान ठेला चलाउँछन, त्यहीँबाट रोजीरोटी चलिरहेको उनले बताइन् ।
भर्खरै कोरोनाको त्राससँगै लामो समयको बन्दाबन्दीको डुबानमा परेको आर्थिक अवस्था फेरि बर्खाको डुबानले डुबाउन लागेको उनले भनिन् । गत सालको बाढीले लगाएको लुगा र ज्यान मात्रै जोगाउन पाएको अनुभव उनले सुनाइन् ।
शनिवार बिहान ५ बजे लगातार परेको पानीले खोला बढेसँगै उनको घरभित्र पानी पसेकाले उनी परिवारसँग घर छोडेर भागेको उनले बताइन् । उनले भनिन, ‘पोहोर सालको ठुलो बाढीको बेला राहतमा पाएको त्रिपाल छ, त्यहीँ त्रिपाल टाँगेर बसेका छौ ।’
उनको जस्तै पिडा छ, सोही स्थानकी प्रमीला सरदारको, उनी भन्छिन ‘ठुलो बाढीमा राहतमा दिएको त्रिपाल पनि च्यातिएको छ, त्यही टाँगेर बसेका छौ, के गर्ने ज्यान त जोगाउन र्पयोनी ?’खोला बढेसँगै वर्षेनी डुबानको सास्ती भोग्नु उनीहरूका लागि सामान्य नै भई सक्यो । गत वर्ष गएको बाढीले भाँडा, लुगा कपडा सबै बगाएर लगेको सरदारले सुनाइन । उनी भन्छिन,‘नेताहरू खालि भोट माग्न मात्रै आउँछन्, हाम्रो समस्या हेर्न कहिले आएनन ।’ खोलाको बहाव बढेसँगै अधिकांश मानिसहरू सुरक्षित स्थानमा सरिसकेको स्थानियहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया