खबर पूर्वाञ्चल
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको टोलीले प्रशोधित हुलास पानी विक्री गर्दा अनुचित लाभ लिएको पाइएपछि २ लाख रूपैयाँ जरिवना गरिएको हो ।
हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले १ लिटरको मिनिरल वाटर होलसेल पसललाई १२.९१ रुपैयाँमा म्याट विल काटेको विक्री गर्दै आएको छ । सोही पानी उपभोक्तालाई विक्री गर्दा बोतलमा ३० रुपैयाँ मुल्य उल्लेख गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले गलत एमआरपी उल्लेख गरि अनुचित कार्य गरेको ठहर गर्दै कारवाहीको दायरामा ल्याएको हो ।
यस अघि प्रसोधित पानी उत्पादन व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय मोरङमा तत्कालिन प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाको नेतृत्वमा एक लिटरको मिनिरल वाटरको एमआरपी मुल्य २० रुपैयाँ र प्रतिजार ७० रुपैयाँ भन्दा बढी एमआरपी मुल्य राख्न नपाइने सहमति भएको थियो । उक्त सहमतिमा हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिका संचालकको पनि उपस्थिती रहेको थियो । उत्पादन लागत मुल्य भन्दा दोब्बर बढी मुल्य राखेर हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले विक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिलाई कारवाही गरिएको कार्यालय प्रमुख बरालले बताए । कार्यालय प्रमुख बरालले अन्य पानी व्यवसायीहरुलाई पनि उचित मुल्य निर्धारण गरि प्रसोधित पानी विक्री वितरण गर्न निर्देशन पनि दिएका छन् । ‘उपभोक्ताहरूबाट पानीको गुनासो आएपछि अनुगमन गरिएको हो,’ उनले भने, ‘अन्यमा पनि यसरी नै अनुगमनलाई तिव्रता दिनेछौं ।’