खबर पूर्वाञ्चल
१३ सय घरलाई पुग्नेगरी पिउने पानी धमाधम बनेपछि स्थानीयबासी खुशी भएका छन् । पानीको अभावमा बसाइँ सरी जानेक्रमले गाँउबस्ती पातलिन थालेपछि सर्वसाधारण निराश बनेको बेला प्रदेश सरकारबाट लिफ्ट प्रविधिमा खानेपानी व्यवस्थापन हुन थालेपछि आफ्नै गाउँमा बस्ने इच्छा पलाएको उनीहरुको भनाइ छ ।
पानीको सास्ती खेप्दै आएको पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर–९, लुम्फाबुङ र फाल्गुनन्द गाँउपालिका वडा नम्बर–१, नवमीडाँडाबासी खुसी भएका हुन् । गाउँ आसपास भएको मुहान नै सुकेर पानीको अभाव खेप्दै आएका छन् । यस क्षेत्रमा पानीको हाहाकार हुनेक्रम दिनानुदिन बढेपछि प्रदेश सरकारको २१ करोड सहयोगमा निबुखेलाबाट सात किलोमिटरमाथिको बस्तीहरुमा पानी वितरण गर्न लागिएको हो । २४ महिनामा सम्पन्न गर्नुपर्ने यस खानेपानीको काम ११ महिनामा ७० प्रतिशत काम सकिएको खानेपानी डिभिजन कार्यालय पाँचथर प्रमुख देवनाथ सिंहको भनाइ छ । यतिबेला रिजर्व ट्यांकी, मुख्य पाइपलाइन, विद्युत विस्तार र कर्मचारी रुगालु आवास भवनको काम अन्तिम चरणमा पुगेको छ ।
पानीको समस्या खेप्दै आएका सर्वसाधारणको घर–आँगनमा चाँडै पानी वितरण गर्ने लक्ष्य लिएर निर्माण क्षेत्रमा स्थानीय तथा जनप्रतिनिधि आफैं सक्रिय भएका छन् । कामलाई सहज बनाउन निर्माणकर्तासँगै खटेर कामले गति लिएको उपभोक्ता समितिका अध्यक्ष गगन लावतीले बताउनुभयो । पानीको मुहान सीमित भएकोले दैनिक एक घन्टा थापिएको पानीले जीवनयापनमा कठिनाइ भोग्नुपरेको दुखेसो पोख्ने गरेका छन् । लिफ्टिङ प्रविधिबाट पानी वितरण भएपछि कृषि उत्पादनमा समेत टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
तपाईको प्रतिक्रिया