पूर्वाञ्चल खबर
प्रदेश–२ क्रिकेट संघले खेलाडी दर्तादेखि अम्पायर तालिम र खेलाडीको फिटनेस प्रशिक्षणलगायतका काम अनलाईनबाट गर्ने निर्णय गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंहको उपस्थितिमा अनलाईनमार्फत बसेको प्रदेश–२ को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफ्नो मातहतमा रहेको ८ वटै जिल्लाका खेलाडीको दर्ता अनलाईनबाट गराउने निर्णय गरेको छ । इन्टरनेटको पहुंच नभएका खेलाडीले भने आफ्नो जिल्ला क्रिकेट संघमा लिखित फाराम भर्न पाउने प्रदेश २ क्रिकेट संघका कोषाध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
प्रदेशले क्रिकेट खेलाडीको आवश्यकता र भविष्यको मध्यनजर गर्दै यही जेष्ठ २५ गते खेलाडीसँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । प्रदेश क्रिकेटले अम्पाएर तथा स्कोरीङ तालिमसंगै खेलाडीको फिटनेस तालिम समेत सञ्चालन गर्ने तयारी गरेको छ । नेपाल सरकारको लकडाउन मोडालिटी पालना गर्दै यस कार्यक्रमहरु सञ्चालन गरिने संघले जनाएको छ ।