खबर पूर्वाञ्चल
आजको प्रदेश सभा वैठकको शुन्य समयमा सांसदहरूले निरन्तरको लकडाउनले जनता भोकै परेका कारण लकडाउनको बिकल्प खोज्न माग गरेका हुन् । सांसद चुमनारायण तवदारले लकडाउनका कारण जनता भोकै पर्ने अवस्था आएकाले लकडाउनको विकल्प खोज्न माग गरे । लकडाउनलाई व्यवस्थित पार्दै दैनिकी सहज नपारे जनता आन्दोलनमा उत्रन बाध्य हुने उनले बताए ।
लकडाउनका कारण जनता भोक भोकै पर्दासमेत सरकार रमिते बनेको सांसद जयराम यादवले बताए । लकडाउन निरन्तर बढाउँदा जनता भोकै मर्ने अबस्था आएको र निर्वाचिन जनप्रतिनिधिलाई राहत बाँड्न दबाव परेको यादवले बताए । उनले स्थानिय तहले एक पटक बाहेक सरकारबाट जनताले कुनै पनि किसिमको राहत नपाएकाले प्रदेश सरकारको तर्फबाट पनि जनतालाई राहतको व्यवस्था गर्न यादवले माग गरे । यादवले प्रदेशमा सञ्चालित क्वारेन्टाईन नै रोग फैल्याउने डर भएकाले क्वारेन्टिन व्यवस्थित पार्न सरकारसँग माग समेत गरे । उनले क्वारेन्टाईन व्यवस्थित पार्न वा घरमै सुरक्षीत रुपमा बस्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराए । सांसद विमल कार्कीले नदीजन्य पदार्थको उत्खनन् व्यवस्थित पार्न माग गर्नुभयो । आजको संसदमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेश वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिए ।