खबर पूर्वाञ्चल
नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि जेठभित्रमा मात्र एक हजार आठ सय ६५ जना लुकेर भित्रिएका हुन् । खुला सीमा भएका कारण प्रहरीको आँखा छलेर छिर्ने क्रम पनि रोकिएको छैन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार प्रदेश १ का चार जिल्लामा जेठमा मात्र भारतबाट एक हजार ८ सय ६५ जना भित्रिएका छन् । ती मध्ये ७ सय १८ जना होल्डिङ एरियामा छन् । अन्यलाई भने क्वारेन्टाइनमा पठाइएको छ ।
नाकाबाट लुकिछिपी छिरेपनि गाउँमा आइपुगेपछि भने प्रहरीलाई जानकारी आउने इलाका प्रहरी कार्यालय रंगेली मोरङका इञ्चार्ज प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । ‘लुकिछिपी भित्रिएकाहरु घर पुगे गाउँबाट जानकारी आइहाल्छ,’ उनले भने, ‘ट्राभल हिस्ट्री हेरेर क्वारेन्टाइनमा राख्छौं ।’ कोरोना संक्रमणको जोखिम बढेसँगै गाउँबाटै नयाँ मान्छे भित्रिए सूचना आउने गरेको उनले बताए ।