पूर्वाञ्चल खबर
एमालेको देशव्यापी कार्यक्रमअन्तर्गत एमाले मोरङको आयोजनामा विराटनगरमा शक्ति प्रदर्शन गरेको हो । विभिन्न स्थानबाट नाराबाजीसहित उपस्थित नेता कार्यकर्ताहरु महेन्द्रचोकमा भेला भएका थिए । महेन्द्रचोकको सभालाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले सम्बोधन गरेका थिए ।
उपाध्यक्ष बरालले हालै देशमा देखिएको जेनजी आन्दोलनलाई विदेशीहरुद्वारा रचिएको षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले यस किसिमका आन्दोलनले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै यस्ता षड्यन्त्रहरुको पर्दाफास गर्न आफूहरु लागिपरेको बताए ।
युवाहरुको भावनासँग खेलेर देशमा विखण्डन ल्याउन खोजिएको उनले दाबी गरे । ‘यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, यसको पछाडि अदृश्य शक्तिहरुको हात छ,’ बरालले भने, ‘उनीहरु नेपाललाई कमजोर बनाउन चाहन्छन् र युवाहरुलाई प्रयोग गरिरहेका छन् ।’ उनले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुलाई भड्काउने काम भइरहेको बताउँदै यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । बरालले जेनजी आन्दोलनका नाममा भइरहेका गतिविधिहरुले लोकतन्त्र र राष्ट्रियता दुवैलाई खतरामा पारेको जिकिर गरे ।
“एमाले सधैं युवामैत्री पार्टी हो, तर राष्ट्रहितविपरीत गतिविधि कतैबाट स्वीकार्य हुँदैन,” उनले स्पष्ट पारे । उनका अनुसार विकास र समृद्धितर्फ देश अघि बढिरहेको समय केही शक्तिहरू अस्थिरता सिर्जनाका लागि सक्रिय छन् ।
उपाध्यक्ष बरालले यस्ता गतिविधि ‘षड्यन्त्र’का रूपमा देखा परेको उल्लेख गर्दै पार्टी संगठनले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा समेत गरे। “देशलाई पछाडि धकेल्ने जुनसुकै प्रयास पनि परास्त गरिन्छ,” उनले भने ।
एमालेले युवालाई विकास–समृद्धिको मुख्य शक्ति मान्दै राष्ट्रहितविपरीतका गतिविधिबारे सतर्कता अपनाउन सर्वसाधारणलाई समेत आह्वान गरेको छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संसद पुनस्थापना नभए अझै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।