खबर पूर्वाञ्चल
साना व्यवसायीहरु जोखिम अवस्थामा परेको भन्दै तत्काल राहत हुने काम गर्न आग्रह गरेका छन् । उनीहरुले विभिन्न व्यापारिक संघसंस्थाहरुको एक्यबद्धतासहित विराट व्यापार संघको नेतृत्वमा ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण व्यापार व्यावसाय धरासायी बन्दै गईरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन ।
व्यापारीहरुले लकडाउन अवद्यिभरको तथा लकडाउन समाप्त भएको ३ महिनासम्मको घर बहाल कर, व्यावसायिक कर तथा घरजग्गा करमा पुर्ण रुपमा छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । व्यापारीहरुले जुनसुकै शीर्षकमा लिईएको कर्जाको हकमा शत प्रतिशत ब्याज छुट हुनुपर्ने तथा लकडाउन पश्चात सहुलियत दरमा ब्याज भुक्तानीका लागी ६ महिनाको समयसीमा प्रदान गर्नुपर्ने लगायतका माग राखेको अध्यक्ष थापाले बताए ।
राजनितिक नेतृत्व निजामति प्रशासनमाथि निर्भर हुने भएकाले व्यावहारिक निर्णयमा केही समस्याहरु देखा परेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत्त कार्कीले बताए । उनले व्यापारी वर्गको समस्या समाधानका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको तथा सम्बन्धित बिषयप्रति संघीय सरकारको पनि ध्यानाकर्षण गराउँदै बुँदागत निर्णयबाट समस्या समाधान गर्ने जानकारी दिए ।
ज्ञापनपत्रका लागी भने मदिरा व्यावसायी संघ, खुद्रा व्यापार संघ, मोरङ्ग ईलेक्ट्रीक संघ, नेपाल मुद्रण उद्योग संघ, होटल तथा पेय पदार्थ व्यावसायी संघ, नेपाल औषधी व्यावसायी संघ र स्टिल व्यावसायी संघलगायतका १२ वटा व्यापारिक संघसंस्थाहरुले एक्यबद्धता जनाएका थिए ।
तपाईको प्रतिक्रिया